नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले हराउँदै प्लेअफ सम्भावना जीवितै राखेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल बनाएको थियो । चितवनले ६ विकेट गुमाएर १३० रन मात्रै बनायो ।
विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा समान चार चौका र छक्का प्रहार गरी ६८ रनमा अविजित इनिङ्स खेले । चितवनका लागि अमर रौतेलाले ४२ रन र सन्तोष कार्कीले २८ रन बनाएका थिए । कप्तान कुशल मल्लले २५ रन र रवि बोपाराले २० रन जोडे । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक–एक विकेट हात पारे ।
अर्को खेलमा कर्णाली याक्सले महत्वपूर्ण खेलमा लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ । लुम्बिनीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा ९ रन आवश्यक थियो । कर्णालीका कप्तान सोमपाल कामीले नन्दन यादवलाई डेथ ओभर बलिङ गर्न दिए । नन्दनले तीन रन मात्रै दिँदा कर्णाली ५ रनले विजयी भयो ।
लुम्बिनीले ७ विकेट गुमाएर १२३ रन मात्रै बनाउन सक्यो । कर्णालीका बसिस्टोले ३० बलमा तीन चौका र तीन छक्काको मद्दतबाट ४४ रन बनाए । ओपनर बाबर हायतले २० रन मात्रै जोडे । चाडविक वाल्टनले १३ रन जोडे । बलिङतर्फ लुम्बिनीका विकास आग्रीले ३ र तिलक भण्डारीले २ विकेट लिए ।
