व्यवसाय संवर्द्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालनका लागि उद्योग संगठन मोरङ र पूर्वाञ्चल विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका फेकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदास श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । संगठनले विगत तीन वर्षदेखि स्टार्टअप एन्ड इनोभेसन कार्यक्रम सञ्चालन गर्दै आएको छ । संघीय सरकारले पनि चालू आर्थिक वर्षको बजेटमार्फत सात प्रदेशमा व्यवसाय संवर्द्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।
कार्यक्रममा कोशी प्रदेशमा उद्योग संगठन मोरङसँग सहकार्य गरी व्यवसाय संवर्द्धन केन्द्र सञ्चालन गर्नु निजी क्षेत्रका लागि गौरवको विषय भएको संगठनका कार्यक्रम संयोजक गोल्छाले बताए । उनले उद्यमशीलता विकासका सन्दर्भमा निजी क्षेत्रको प्रयासलाई संघीय सरकारले पहिचान गरी सहकार्य गर्नुले आफूहरूलाई उत्साहित बनाएको बताए ।
सम्झौताअनुसार कार्यक्रमलाई ट्रिपल हेलेक्स पद्धतिअनुसार निजी क्षेत्र, शैक्षिक संस्था तथा स्थानीय सरकारको सहकार्यमा र संघीय सरकारको सहयोगमा विराटनगरमा स्थापना हुने व्यवसाय संवर्द्धन केन्द्रले स्टार्टअप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए । उनले उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिकाको सहकार्यमा स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमलाई थप संस्थागत गरिँदै लगिने स्पष्ट पारे ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजु थपलियाले युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न संवर्द्धन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकताअनुसार आगामी दिनमा परिमार्जन र परिष्कृत गरी थप प्रभावकारी बनाउने धारणा राखे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले नेपाल सरकारले युवा उद्यमशीलता प्रवद्र्धन गर्न सातै प्रदेशमा व्यवसाय संवर्द्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालनका लागि कार्यक्रम बनाएको, उक्त कार्यक्रम कार्यान्वयनका लागि उद्योग संगठन मोरङमा सञ्चालित स्टार्टअप तथा इनोभेसन कार्यक्रमलाई नै थप व्यवस्थित गरी अघि बढाउन लागेको बताए ।