अहिले ट्याक्सी–वे विस्तारका लागि विमानस्थल १० घण्टा बन्द गरिँदै आएको छ, फेब्रुअरी १ देखि भने आठ घण्टा बन्द गरिने
आगामी १९ माघदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा चल्ने भएको छ । हाल धावनमार्गबाट ७५ मिटरभित्र पर्ने ट्याक्सी–वे विस्तारका लागि १० घण्टा विमानस्थल बन्द गरेर १४ घण्टा मात्रै सञ्चालन गरिँदै आएको छ । माघदेखि भने दैनिक आठ घण्टा मात्रै विमानस्थल बन्द गरेर विस्तारको काम गरिने भएको हो ।
अहिले विमानस्थल बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म मात्रै सञ्चालन हुँदै आएको छ । आगामी १ फेब्रअरी (१९ माघ)देखि भने बिहान ७ बजेदेखि बेलुकी ११ बजेटसम्म विमानस्थल सञ्चालन गरिने भएको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गत २३ कात्तिकदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारको काम गरिरहेको छ । विस्तारको काम आगामी १८ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
‘एकातर्फ ट्याक्सी–वे विस्तारको कामले राम्रै गति लिएको छ भने अर्कातर्फ धेरै समय विमानस्थल बन्द हुँदा यात्रुलाई समस्या परिरहेको छ,’ उनले भने, ‘प्राविधिक समस्या नदेखिएको तथा काममा कुनै प्रभाव नपर्ने भएपछि उडान संख्यालाई समेत ध्यानमा राखेर अब आठ घण्टा मात्रै विमानस्थल बन्द गरेर काम गरिने भएको हो ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट ७५ मिटरभित्र पर्ने ट्याक्सी–वे विस्तारको काम २२ प्रतिशत सकिएको उनले बताए । धावनमार्गबाट ७५ मिटरभन्दा बाहिर पर्ने अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी–वेलगायतका काम यसअघिदेखि नै निर्माण भइरहेका थिए ।