ब्रायन लारा आज नेपाल आउँदै

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

क्रिकेटकै चर्चित खेलाडी ब्रायन लारा शुक्रबार नेपाल आउँदै छन् । ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लिजेन्ड लारा विहान ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपिएल लिग हेर्न उनी नेपाल आउन लागेका हुन् । गत जुनमा अमेरिका र वेस्ट इन्डिजले संयक्त रूपमा आयोजना गरेको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका दौरान नै लाराले नेपाल आउन इच्छुक भएको बताएका थिए । 

टी–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा भएका खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो । सोही खेलपछि नेपाली खेलाडीलाई उत्कृष्ट प्रदर्शनको बधाई दिँदै लाराले आफूले नेपाल भ्रमण गर्ने बताए । तर, उनले त्यसवेला कहिले नेपाल आउने बताएका थिएनन् । 

क्यानले एनपिएलको ब्रान्डिङका क्रममा चर्चित खेलाडीलाई ल्याइरहेको छ । एनपिएलमा भारतीय टोलीका पूर्वओपनर तथा इन्डियन प्रिमियर लिग (आइपिएल)कै नियमित खेलाडी शिखर धवन कर्णाली याक्सबाट चार खेल खेल्दै स्वदेश फर्केका छन् । सन् २०१५ को एकदिवसीय विश्वकपमा दोहोरो शतकीय इनिङ्स खेलेका न्युजिल्यान्डका मार्टिन गुप्तिल विराटनगर किंग्समा आबद्ध छन् । 

एनपिएलको खेल हेर्न इच्छुक
क्यानका अनुसार लाराले एनपिएलका केही खेल हेर्ने छन् । लाराले बुधबार सोसल मिडियाबाट आफू एनपिएलको खेल हेर्न इच्छुक भएको बताएका थिए । ‘मलाई नेपालमा चलिरहेको एनपिएल हेर्ने इच्छा छ,’ उनले भने, ‘नेपाली समर्थकबाट न्यानो माया पाउने आशा छ ।’ सन् १९९० देखि २००६ सम्म लाराले वेस्ट इन्डिजबाट टेस्टमा प्रतिस्पर्धा गरेका थिए । सन् १९९० मा उनले पाकिस्तानविरुद्ध टेस्टमा डेब्यु गरे । संयोगवश १६ वर्षको टेस्ट करिअरकै अन्तिम खेल उनले पाकिस्तानविरुद्ध सन् २००६ मा खेलेका थिए । उनले इंग्ल्यान्डविरुद्ध सन् २००७ मा अन्तिमपटक वेस्ट इन्डिजबाट एकदिवसीय खेलमा सहभागिता जनाए । 

५३ अन्तर्राष्ट्रिय शतक र टेस्टमा विश्व रेकर्ड
१७ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा लाराले टेस्ट र एकदिवसीय गरी समग्रमा ५३ शतकीय इनिङ्स खेलेका छन् । उनले टेस्टमा १३१ खेलमा ३४ शतक तथा ४८ अर्धशतक बनाए । २९९ एकदिवसीयमा उनले १९ शतक र ६३ अर्धशतकीय इनिङ्स खेले । 

टेस्ट इतिहासमा पहिलोपटक ११ हजार रन कटाउने उनी पहिलो खेलाडी बनेका थिए । उनले २३२ इनिङ्समा ११ हजार ९५३ टेस्ट रन बनाए । एकदिवसीयमा उनको नाममा १० हजार ४०५ रन छ । सन् २००४ मा लाराले टेस्टको एकै इनिङ्समा चार सय रनको नटआउट इनिङ्स खेलेका थिए । जुन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । यसैगरी सन् १९९४ मा पहिलो श्रेणीमा उनले विश्व रेकर्डका रूपमा ५०१ रनको नटआउट इनिङ्स खेलेका थिए ।

सुझावित समाचार