एकपटक एक महात्माले आफ्ना शिष्यहरूसित भोलिपल्टको प्रवचन सुन्न आउँदा कुहिएका आलुमा आफूले सबैभन्दा ईर्ष्या र घृणा गर्ने व्यक्तिका नाम लेखेर ल्याउन अह्राए । महात्माले जति जनामाथि ईर्ष्या र घृणा छ, त्यति नै आलु ल्याउनुपर्ने आदेश दिएका थिए ।
भोलिपल्ट सबै शिष्य आलु लिएर आए । कसैका साथमा चार, कसैसित ६ त कसैसित आठ–दश आलु थिए । सबैमा उनीहरूले आफूले ईर्ष्या र घृणा गर्ने गरेका मानिसका नाम लेखेका थिए । प्रवचनको समयमा सबैका साथमा रहेको आलुको झोलातिर संकेत गर्दै महात्माले भने– मेरा प्रिय शिष्यहरू हो ! तपाईंहरूले मेरो अनुरोधलाई स्विकार्दै आफूले ईर्ष्या र घृणा गर्ने पात्रका नाम लेखी जुन आलु ल्याउनुभएको छ, त्यसलाई आगामी सात दिनसम्म खाँदा, सुत्दा, हिँड्दा, काम गर्दा जतिखेर पनि आफूसँगै राख्नुहोला ।
शिष्यहरूले महात्मा के चाहन्छन् भन्ने अनुमान लगाउन सकेनन् । तैपनि, उनीहरूले आदेशको अक्षरशः पालना गरे । दुई–तीन दिनपछि नै शिष्यहरू एक–अर्कासित गुनासो गर्न थाले । जोसित बढी आलु थियो, तिनीहरू बढी नै कष्टमा थिए । जसोतसो उनीहरूले सात दिन बिताए । सात दिनपछि उनीहरू महात्माको शरणमा पुगे ।
उनीहरूको हालत देखेर महात्माले भने– अब तपाईंहरू सबैले आआफ्नो आलुको झोला निकालेर बाहिर फोहोर राख्ने स्थानमा छाडेर आउनुहोस् । सबैले त्यसै गरे । त्यसपछि पुनः महात्माले प्रश्न गरे– बितेका सात दिन कस्ता रहे ? शिष्यहरूले आआफ्ना कष्टबारे सुनाए । आलुको दुर्गन्धले सताएको र अहिले निकै हल्का महसुस भइरहेको पनि उनीहरूले बताए ।
महात्माले भने– मात्र सात दिनमै तपाईंहरूलाई यी आलु यति ठुलो बोझ बने भने जो–जो मानिसलाई तपाईंहरू ईर्ष्या या घृणा गर्नुहुन्छ, उनीहरूको बोझ तपाईंहरूको दिमागमा पक्कै पर्छ । र, यो बोझ तपाईंहरू जीवनभर बोकिरहनुहुन्छ । एकछिन सोच्नुहोस् त, ईर्ष्या र घृणाको बोझबाट तपाईंको मस्तिष्कमा कस्तो प्रभाव पर्ला ? त्यसैले, आजैदेखि ईर्ष्या र घृणालाई मनबाट निकालिदिनुहोस् र मनलाई स्वच्छ र स्वस्थ राख्नुहोस् ।