सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम रोयल्सले एनपिएलको १८औँ खेलमा जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ  गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १२३ रन बनायो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा सर्वाधिक ३३ रन बनाए । शेर मल्लको बलमा ट्रोम्पबाट क्याचआउट हुनुअघि विनाेदले तीन चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर सैफ जैवले २१ बलमा दुई छक्कासहित २१ रन नै बनाए । पहिलो विकेटको लागि विनोद र जैवबिच पहिलो विकेटका लागि ५५ रनको साझेदारी भएको थियो । ७.४ ओभरमा पहिलो विकेट गएपछि अन्य ब्याटरले ठुलो स्कोर बनाउन सकेनन् ।

इशान पाण्डे १७ रन  तथा ब्रान्डन म्याकमुलन ११ रन बनाएर आउट भए । कप्तान तथा मार्की दीपेन्द्रसिंह ऐरी तीन बल खेलेर डकआउट भएका थिए । भारतलाई सन् २०१२ मा यू–१९ विश्वकप जिताएका हरमित सिंह पनि एक रन बनाएर आउट भए । उनी एनपिएलमा पहिलो खेल खेल्दै छन् । मध्यक्रमका आरिफ शेख ६, स्कट कुगुलेइन सात, नरेन साउद तीन  रन बनाएर आउट भएका थिए । नाै रन बनाएका नरेश बुडाऐर र दुई रन बनाएका अभिनाश बोहरा अविजित रहे ।

जनकपुरका किशोर महतोले सर्वाधिक चार विकेट लिए । उनले चार ओभरमा ३५ रन खर्चिए । शेर मल्ल, अरनिको यादवले समान दुई तथा हर्ष ठाकरले एक विकेट लिएका हुन् । चार ओभर बल फ्यालेका ललित राजवंशी र दुई ओभर बल फ्यालेका जेम्स निसम विकेटविहीन भए ।

आठ अंकसहित शीर्ष स्थानमा रहेको जनकपुर लगातार पाँचौँ जितको खोजीमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेट, पोखरालाई सात विकेट तथा लुम्बिनीलाई एक रनले हराएको थियो ।

एक खेल हारेको सुदूरपश्चिम जनकपुरलाई हराउँदै अंक बराबरी गर्ने लक्ष्यमा छ । अन्तिम खेलमा चितवनसँग ३३ रनले हारेको सुदूरपश्चिमले विराटनगरलाई ९० रन, काठमाडौंलाई ७३ रन र लुम्बिनीलाई ४५ रनले हराएको हो ।

See More On

सुझावित समाचार