चिनीको तस्करी रोक्न उद्योगीको माग

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

भारतसँगको खुला सीमाबाट भइरहेको चिनी तस्करी रोक्न उद्योगीहरूले सरकारसँग माग गरेका छन् । गत वर्षको क्रसिङ सिजनमा उत्पादित चिनी हालसम्म पनि नबिकेको भन्दै नेपाल चिनी उद्योग संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मलेनमार्फत यस्तो माग गरेका हुन् । ‘स्वदेशमा स्थापित चिनी उद्योगहरूले गत वर्ष क्रसिङ सिजनमा उत्पादित चिनी नै केही उद्योगहरूमा मौज्दातमा बाँकी छ,’ संघका अध्यक्ष शशिकान्त अग्रवालले भने, ‘खुला सिमानाका कारण चिनीको अनधिकृत पैठारीका कारण चालू क्रसिङ सिजनमा उत्पादन हुने चिनीसमेत समयमा नै बिक्री नभई मौज्दातमा रहन जाने देखिन्छ ।’

गत आर्थिक वर्ष ८०/८१ को क्रसिङ सिजनमा दुई करोड ३८ हजार सात सय ५५ क्विन्टल उखु क्रसिङ गरिएको थियो । त्यसबाट एक लाख ७८ हजार सात सय १७ टन चिनी उत्पादन भएको थियो । तर, बजारमा तस्करीको चिनी उपलब्ध हुँदा उद्योगीको चिनी गोदाममै थन्किएको उद्योगीको भनाइ छ । 

हाल देशभर १३ वटा चिनी उद्योग सञ्चालनमा छन् । उखुखेतीमा आबद्ध करिब एक लाख १५ हजार सात सय ५५ कृषक परिवार छन् । यो क्षेत्रबाट करिब ३० हजार पाँच सय ३५ जनाले रोजगारी पाएको संघको दाबी छ । 

चालू आर्थिक वर्ष ०८१/८२ मा दुई लाख २० हजार टन चिनी उत्पादन हुने उद्योगीको अनुमान छ । वार्षिक चिनीको माग भने करिब दुई लाख ५० हजार टन छ । 

विगतमा क्रसिङ सिजन ०७४/७५ मा समेत निकासी अनुदानका कारण विदेशबाट अत्यधिक मात्रामा चिनी आयात हुँदा स्वदेशी उत्पादन मौज्दात रहन गई कृषकलाई समयमा नै भुक्तानी गर्न समस्या भई केही उद्योगहरू बन्द नै भएको संघले जनाएको छ । यसरी अनधिकृत रूपमा चिनी पैठारी हुँदा शतप्रतिशत स्वदेशी कृषिजन्य उद्योगबाट उत्पादित चिनी बिक्रीमा प्रतिकूल असर पारी मौज्दात रहने छ । 

See More On

सुझावित समाचार