दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका– ४ र भानु नगरपालिका–१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो । 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यहाँ पुल निर्माण हुन लागेको छ । डुम्रे–बेँसीसहर सडकअन्तर्गत बन्दीपुर– १ र भानु– १ भन्सारस्थित चुँदीखोलामाथि रहेको पुलको वैकल्पिक मार्गका रूपमा यहाँ पुल निर्माण सुरु भएको हो । भन्सारस्थित उक्त पुल साँघुरो रहेका कारण यहाँ फराकिलो पुल निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

१० करोड १० लाख ९१ हजार १६६ को लागतमा पुल निर्माणका लागि सम्झौता भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । तिवारीका अनुसार पुल निर्माणका लागि एमएसआइएस निर्माण सेवा सुर्खेतसँग ०८१ असार १० गते सम्झौता भएको थियो । 

पुल निर्माणको काम ०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको तिवारीले बताए । पुल ४० मिटर लम्बाइको हुनेछ । हाल पुलको फाउन्डेसनको काम भइरहेको छ । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा रु. दुई करोड ३६ लाख ८२ हजार बजेट विनियोजन भएको छ । पुल निर्माणपश्चात् आँबुखैरेनीतर्फ आउने सवारीसाधन डुम्रेबजार नपुगी यहीँबाट भन्सार हुँदै बेँसीसहर जान सक्नेछन् । 

सुझावित समाचार