रुखमा झिलिमिली बत्ती राखे महानगरले जफत गर्ने

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाभित्र रहेका रुखमा झिलिमिली बत्ती राख्न नपाइने भएको छ । कृत्रिम बत्तीका कारण रुख–बिरुवा सुकेको, करेन्ट लाग्ने डर भएको, चराचुरुंगीको वासस्थान नै लोप हुने अवस्था आएपछि महानगरपालिकाले झिलिमिली देखाउने नाममा रुख–बिरुवामा बालिने बत्तीमा रोक लगाएको हो ।

महानगरभित्रका कतिपय सार्वजनिक जग्गा, व्यक्तिगत जग्गा, विभिन्न पार्क, चौतारामा रहेको होटेल, रेस्टुरा, क्लब, संघसंस्थाहरूले सजावटको नाममा झिलिमिली बत्ती टाँगिरहेका छन् । अब भने महानगरपालिकाभित्र टाँगिएका ती बत्ती निकाल्नुपर्नेछ । आइतबार महानगरपालिका मेयर बालेन्द्र साहको अध्यक्षतामा बसेको महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’, २०८१ स्वीकृत गर्दै सो निर्णय गरेको हो । महानगरको कार्यविधिअनुसार क्षणिक अर्थात् तीन दिनसम्मका लागि यस्ता बत्ती राख्न दिए पनि नियमित राख्न पाइँदैन । लहरे बत्ती व्यवस्थापन कार्यविधिले सजावट वा सुन्दरताका लागि कुनै पनि बोट–बिरुवामा लहरेबत्ती राख्न नपाउने व्यवस्था गरेकोले त्यसो गर्नेलाई कारबाही हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार व्यावसायिक तथा सार्वजनिक स्थानमा त्यस्ता बत्ती राख्न पाइनेछैन । यदि क्षणिक समयका लागि राख्नु परे वातावरण व्यवस्थापन विभागबाट अनुमति लिनुपर्नेछ । अन्यथा, महानगरको नगरप्रहरीले अनुगमन गरेर जरिवानासहित बत्ती जफत गर्नेछ । 

रुख–बिरुवामा राखेको झिलिमिली बत्तीले चराचुरुंगीको वासस्थानमा प्रभाव परेको भन्दै वातावरण तथा सम्पदा अभियन्ताहरूले बत्ती हटाउन महानगरपालिकालाई सुझाव दिएका थिए । सम्पदाप्रेमी यादवलाल कायस्थले महानगरपालिकाका मेयर साहलाई पटक–पटक भेटेर यसबारे जानकारी गराएका थिए । महानगरपालिकाको निर्णपछि अभियन्ता कायस्थले खुसी व्यक्त गर्दै यसले चराचुरुंगीको संरक्षणमा मद्दत पुग्ने बताए । ‘काठमाडौं आफैँमा हराभरा र जीवित सहर हो, यहाँ कृत्रिमभन्दा पनि प्राकृतिक कुराले भरिपूर्ण ठाउँ छन्, कृत्रिम बत्ती राखेर चराचुरुंगी र रुखबिरुवा मार्ने काम राम्रो होइन,’ उनले भने, ‘पटक–पटक आवाज उठाउँदा महानगरले बल्ल सुन्यो ।’ 

अभियन्ताबाट सुझाव आएपछि महानगरपालिकाको वातावरण विभाग टिमले अध्ययन गरेको थियो । सो क्रममा सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर, जनस्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरूको वास, आहार तथा आवत–जावतमा समेत असर पार्ने देखिएको थियो । दीर्घकालीन रूपमै यस्तो बत्ती राख्न नदिने गरी महानगरपालिकाले कार्यविधि नै बनाएर पास गरेको हो ।कार्यविधिले जात्रा पर्वमा प्रयोग गरिने बत्ती बढीमा सात दिनसम्म राख्न दिने व्यवस्था गरेको छ । तर त्यसलाई पनि संशोधन गरेर तीन दिनसम्म मात्रै कृत्रिम बत्ती राख्न दिनुपर्ने धारण महानगरकै अन्य जनप्रतिनिधिको छ । 

कार्यपालिका बैठकले पाँचवटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । बैठकबाट पास हुने कार्यविधिहरू ‘कोसेली घर सञ्चालन तथा व्यवस्थापन कार्यविधि’, ‘स्वरोजगार नगरबासीसम्बन्धी कार्यविधि’, ‘उद्यमशीलता, व्यवसाय इन्कुबेसन केन्द्र, प्रविधि अनुसन्धान, नवप्रवद्र्धन केन्द्र तथा कोष सञ्चालन कार्यविधि र ‘एग्रो पुलिङ कार्यविधि’ छन् ।

सुझावित समाचार