बालिका बलात्कार अभियोगमा बिर्तामोडका पूर्वनगरप्रमुख पक्राउ

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण

बालिका बलात्कारको आरोपमा झापा बिर्तामोडका पूर्वनगरप्रमुख ध्रुवकुमार सिवाकोटी पक्राउ परेका छन्। सिवाकोटीकै घरमा केही वर्षदेखि काम गर्दै आएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सिवाकोटीले तीन वर्षदेखि उनलाई पटक-पटक बलात्कार गर्दै आएको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ। बलात्कारबाट बच्न भारतको आसामस्थित आफन्तकहाँ जाने क्रममा पीडित बालिकालाई सीमानाका काँकडभिट्टास्थित महिला उद्धारमा खटिएको एक संस्थाले सोधपुछ गर्ने क्रममा घटना खुलेको हो। सोधपुछका क्रममा बालात्कारको सिकार भएको खुलेपछि उक्त संस्थाले इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

पीडित बालिका बिर्तामोडको एक क्याम्पसमा प्राविधिक विषय अध्ययन गर्छिन्। उनी कलेजकै पोसाकमा नाका पुगेकी थिइन्। उनी काँकडभिट्टा हुँदै भारत गएको थाहा पाएपछि फर्काउन गएका पूर्वनगरप्रमुख सिवाकोटीलाई प्रहरीले काँकडभिट्टाबाटै पक्राउ गरेको थियो। अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरी स्रोतका अनुसार ती बालिकाका बुबा-आमा दुवैको निधन भइसकेको छ। आर्थिक अवस्था कमजोर भएकी उनी आफन्तको शरणमा थिइन्। सोही क्रममा सिवाकोटीले घरमा काम गर्ने र पढाउने भन्दै लगेका थिए। प्रहरीका अनुसार पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा जबर्जस्ती करणी अभियोगमा जाहेरी दिएका छन्। जाहेरीका आधारमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

सुझावित समाचार