बाराको बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा दिनदिनै भिड बढ्दै गएको छ।
मेलामा दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको मूल मेला व्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले बताए।
नेपाल र भारतका छिमेकी राज्यका सरकारमा रहेकाहरूलाई समेत व्यवस्थापन समितिले दर्शनका लागि निम्त्याएको छ। पाँच वर्षमा एकपटक लाग्ने उक्त मेलामा दैनिक हजारौँको संख्यामा दर्शनार्थीहरू आइरहेको यादव बताउँछन्।
महागढीमाईको वडा नं. १ बरियारपुरमा अवस्थित हिन्दुहरूको शक्तिपीठको रूपमा स्थापित गढीमाई विशेष गरी बलीका लागि चर्चित छ। मेलामा सोमबार बोका बली सुरु भएको छ। यो मेला विश्वमा सबैभन्दा बढी बली दिइने धार्मिकस्थल मानिन्छ। यहाँ आउने श्रद्धालुले भाकल गर्छन् र इच्छाएको कुरा पूरा भएमा पूजापाठ गर्ने तथा बली दिने गर्छन्।
विशेष पूजा गर्नका लागि पाँच सय रुपैयाँ तिरेर रसिदसहित जानका लागिसमेत बेग्लै व्यवस्था गरिएको नगरप्रमुख यादवले बताए। मन्दिरवरपर श्रद्धालुका लागि विभिन्न किसिमका खेलहरू र मनोरञ्जनका साधन छन्।
यसपटक पसलहरु पनि व्यवस्थित बनाइएको छ। यसैगरी निःशुल्क स्वास्थ्य परीक्षणदेखि आकस्मिक स्वास्थ्य उपचारको प्रबन्ध पनि मिलाइएको छ। मेलाको अवसरमा नेपाल तथा भारतका लाखौँले दर्शन गर्ने भएकाले सुरक्षाका लागि नगर प्रहरीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत खटाइएको नगरप्रमुख यादवले जानकारी दिए।
यसैगरी दर्शनार्थीलाई सहयोगका लागि स्वयंसेवक पनि खटिएका छन्।