गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचन आगामी निर्वाचन १२ जुलाई २०२५ मा हुने भएको छ । सोमबार बसेको काउन्सिल बैठक बेलायतले केन्द्रीय एमआइएस प्रणालीको प्रयोग गरेर अनलाइनमार्फत सदस्यता वितरण र निर्वाचन (मतदानसमेत) गर्ने सर्वसम्मत निर्णय गरेको छ । साथै बैठकले एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडालाई निर्वाचन समितिको संयोजक तोकेको छ ।
त्यसैगरी बैठकले संघको नियमित र महत्त्वपूर्ण कार्यक्रम ‘काउन्सिल बैठक’ भने आगामी मार्च २ तारिख अल्डरसटमा आयोजना गर्ने सर्वसम्मत निर्णयसमेत गरेको छ । उक्त काउन्सिल बैठकमा बेलायतका सम्पूर्ण सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । काउन्सिल बैठकको आयोजना गर्न उपाध्यक्ष लीलाराम निउरेको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ । बैठकको अध्यक्षता एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङले गरेका थिए ।
बैठकमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रामशरण सिंखडाले संघका हालैका गतिविधिबारे प्रकाश पारेका थिए । साथै, संघको आगामी गतिविधिबारे जानकारी दिँदै राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरूलाई निर्वाध रूपमा आफ्ना गतिविधि नियमित राख्न पूर्ण अधिकार रहेकोसमेत प्रकाश पारेका थिए ।
हाल केन्द्रमा देखिएको भनिएको विवाद सर्वोच्च अदालतको पछिल्लो फैसलाले निरुपण गर्दै निर्वाचित कमिटीलाई निर्वाध काम गर्न र पूर्ण कार्यकाल क्रियाशील हुँदै आवधिक निर्वाचनपश्चात् नेतृत्व हस्तान्तरण गर्न बाटो खोलेको सिंखडाले जानकारी दिए ।
‘न्याय निरुपणको अन्तिम मुकाम सम्मानित सर्वोच्च अदालत भएकाले उसले दिएको अन्तिम फैसलाले उच्चस्तरीय समितिको नाममा छुट्टै र समानान्तर क्रियाकलाप गर्ने अधिकारी दिएको छैन । एकाताबद्ध एनआरएनका लागि सबै पक्ष लचिलो भई ऐक्यबद्ध एनआरएन हुनुपर्छ,’ उनले भने ।
त्यसैगरी उपमहासचिव सोम सापकोटाले संस्थाको वैधानिकतालाई अदालतको निर्णयले समाधान गरेकोले सबै एनसिसीलाई नियमित कार्यक्रम अघि बढाउन अनुरोध गरे।
बैठकमा गैरआवासीय नेपाली संघका सल्लाहकार चिरञ्जीवी ढकालले संघका गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको बताए । निर्वाचनको विषयमा एनसिसीलाई अन्योलमा नपर्न आग्रहसमेत उनले गरेका थिए ।
एनआरएनए गोर्खा कार्यदलका संयोजक चन्द्रबहादुर गुरुङले बेलायतमा नेपाली भाषा कक्षाको आवश्यकता रहेको बताउँदै एनआरएनए युकेको अभियानमा आफ्नो सहयोग सुनिश्चित गर्ने कुरा उल्लेख गरे । बैठकले एनआरएनए युकेको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि ३१ मे सम्म गर्ने निर्णय गरेको छ ।