व्यवसायीले उद्योगमन्त्रीलाई बुझाए १० बुँदे ज्ञापनपत्र

आइतबार, २३ मंसिर, २०८१
डिजिटल संस्करण

कैलालीका उद्योगी–व्यवसायीले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई सुदूरपश्चिम विकासका लागि विभिन्न मागसहितको १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटनका अवसरमा कैलाली उद्योग वाणिज्य संघले मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।  

संघले भारतसँग जोडिएको गौरीफन्टा नाकालाई सुविधासम्पन्न नाकाका रूपमा स्तरोन्नति गर्नुपर्ने, कृषि विश्वविद्यालय स्थापना, प्रदर्शनीस्थल स्थापना, सुदूरपश्चिममा उद्योग स्थापनाका लागि कर छुट दिनुपर्नेलगायतका माग गरेको छ । ०६३ मा महोत्सव सुरु गर्दा संघले तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनमा बोलाएर यहाँको विकासका २१बुँदे मागसहित २१ किलोको माला पहिर्याएको थियो ।

तीमध्ये केही माग पूरा भएका र केही आंशिक पूरा भएका संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । अध्यक्ष कुँवरले अहिले धराशायी हुँदै गएको व्यवसाय क्षेत्र उकास्ने योजना ल्याउन सरकारलाई आग्रह गरे । उनले यहाँ स्थापना हुने उद्योगलाई राज्यले कर छुट दिनुपर्ने माग गरे । 

‘उद्योग स्थापनाका लागि जग्गाको समस्या छ । राज्यले नाकाको स्तरोन्नति गरिदिनुपर्छ,’ अध्यक्ष कुँवरले भने, ‘अहिले उद्योग, व्यवसाय टिकाउन सकिएको छैन, यसले आर्थिक विकास र रोजगारीमा पनि असर परेको छ । सरकारले निजी क्षेत्र उकास्ने कार्यक्रम ल्याउन ढिलो गर्नुहुँदैन ।’ 

महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका पाँच सय ३१ वटा स्टल राखिएका छन् । स्टलहरूबाट करिब १५ करोड मूल्यबराबरको आर्थिक कारोबार हुने संघको अनुमान छ । व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरूको खोजी गर्दै संघले हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ ।
 

सुझावित समाचार