बंगलादेशमा सनातनी हिन्दुलगायत धर्मावलम्बीमाथि भएको हिंसात्मक घटनाप्रति सनातन ओमकार परिवारले आफ्नो ध्यानाकर्षण भएको जनाएकाे छ। हिन्दु सनातनी धर्मगुरुको गिरफ्तारी र जेल चलानले थप असुरक्षित महसुस गराएको भन्दै हिन्दु, बौद्ध, जैन, शिखलगायत समाजले काठमाडौैंमा कार्यक्रम गरी बंगलादेश सरकारको ध्यानाकर्षण गराएको हो ।
धार्मिक, सामाजिक संघ–संस्था एवं मानव अधिकारवादी जनसमुदाय सनातन संरक्षण समूहको ब्यानरमा प्ले कार्डसहितको बृहत् भेला काठमाडौंमा भएको थियो । भेलाबाट सनातन संरक्षण समूहका संयोजक तथा संविधानसभाका सांसद विमलकुमार केडिया, विश्व हिन्दु महासंघ र रष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारी, इस्कोन संस्थाका डा. राहुल सराबगीसमेतको प्रतिनिधिमण्डलले काठमाडौंस्थित बंगलादेशी राजदूत, संयुक्त राष्ट्रसंघीय आवासीय नेपाल प्रमुख तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ। ‘नेपाल सनातन ओमकार परिवार बहुसंख्यक जनसंख्या भएको राष्ट्र हो । बहुसंख्यक सनातन हिन्दु धर्मावलम्बी रहेको नेपालले विश्वमा रहेका अल्पसंख्यक सनातनी हिन्दुमाथि हुने गरेका विभेद र असहिष्णुता अन्त्य गर्न पहल गर्नु हामी आफ्नो परम् कर्तव्य र दायित्व ठान्छौँ,’ ज्ञापनपत्रमा भनिएको छ।