दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ। बेलौरी नगरपालिका– ७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो ।

नेपाल पक्षी संरक्षण संघ (बिएन)का चराविज्ञ हिरूलाल डगौरा, शुक्लाफाँटा नेचरगाइड एसाेसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेला पारेकाे हाे । हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्दछ । ‘तराई क्षेत्रमा आउने भए पनि विरलै देखापर्ने गरेको छ,’ चराविज्ञ डगौराले भने, ‘कञ्चनपुरमा भने पहिलोपटक देखापरेको छ, यो चरा यस क्षेत्रका लागि दुलर्भ नै हो ।’ अहिलेसम्मको तथ्यांकमा यो चरा नदेखिएको उनको भनाइ छ ।

उनका अनुसार यो चरा बंगलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्यान्डमा पाइन्छ । गर्मीका वेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइँ सर्ने गर्दछ । जाडोमा यो चरा नेपालदेखि भारतको आसामसम्म बसाइँ सरेर पुग्ने गर्छ । यसले गर्मीका वेला प्रजनन गर्ने गर्दछ । घना रुख र झाडीमा गुँड लगाएर अन्डा पारेर बच्चा कोरल्ने गर्दछ ।

कृष्णवक्ष रातोकण्ठ चराको भालेको सेतो निधार, स्टलेटी खैरो हुन्छ भने पखेटा खैरो रङको र पुच्छर सेतो टुप्पोमा कालो रङको हुन्छ । घाँटी र छातीको छेउ कालो हुन्छ भने घाँटीको बिचमा रातो रङ हुन्छ ।

पोथी निलो खैरो रङको हुन्छ । घाँटी सेतो हुन्छ । ‘यस चराका जोडी प्रजननको समयमा एक्लै वा जोडीमा देखिने गर्दछन्,’ चराविज्ञ डगौराले भने, ‘यसले स–साना किरा र कमिलालाई आहाराका रूपमा खाने र बचेरालाई खुवाउने गर्दछ ।’ तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुनः पुरानै वासस्थानमा फर्कने गर्दछ । यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ ।

सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको चराविज्ञ डगौराको भनाइ छ ।

सुझावित समाचार