स्कटल्यान्डका खेलाडी ब्रान्डन म्याकमुलनको अर्धशतक र नरेन साउदको पाँच विकेटप्रेरित सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराउँदै एनपिएलमा दोस्रो जित निकालेको छ।
बिहीबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ९४ रन बनाउन सक्यो। नरेनले ३.५ बलमा १९ रन खर्चिँदै पाँच विकेट लिए। म्याकमुलेनले सर्वाधिक ५३ रन बनाए।
प्रतियोगितामा सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको छ। टोली पहिलो खेलमा विराटनगरलाई ९० रनले हराउन सफल भएको थियो। काठमाडौं दोस्रो जितबाट टाढा भएको छ। पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित काठमाडौंले दोस्रो खेलमा कर्णाली याक्सलाई तीन विकेटले हराएको थियो।

काठमाडौंका लागि इंग्ल्यान्डका ३० वर्षीय स्टेफन इस्किनाजीले ३३ बलमा सर्वाधिक ३७ रन बनाए। रनआउट भएका भीम सार्की र एलबिडब्लू धरापमा परेका नामिबियाका कप्तान जेरार्ड इरास्मासले समान १० रन बनाए। कर्णालीविरुद्ध सानदार प्रदर्शन गरेका सुमित महर्जन पनि १४ रन र रसिद खान दुई रन मात्र बनाएर आउट भएपछि काठमाडौंले १३.४ ओभरमा सात विकेट गुमाउँदा मात्र ८३ रन बनायो। यसअघि ओपनरद्वय नेदरल्यान्ड्सका माइकल लेभिट र शंकर राना दोहोरो अंकमा रन नजोड्दै पेभिलियन फर्किएका थिए।
सुदूरपश्चिमका स्पिनर नरेन साउदले सर्वाधिक पाँच विकेट हात पारे। अभिनाश बोहराले दुई तथा ब्रान्डम म्याकमुलेन र सैफ जैवले समान एक विकेट लिए।
यसअघि सुदूरपश्चिमका लागि स्कटल्यान्डका २५ वर्षीय दायाँहाते ब्याटरले ३६ बलमा सर्वाधिक ५३ रन बनाए। उनले ३२ बलमा तीन चौका र चार छक्कासहित अर्धशतक बनाएका हुन्। ओपनर विनोद भण्डारीले सहाब आलमबाट एलबिडब्लू धरापमा पर्नुअघि २८ बलमा ३५ रन बनाए। दोस्रो विकेटका लागि विनोद र म्याकमुलनले ८७ रनको साझेदारी गरेपछि सुदूरपश्चिम बलियो स्कोरतर्फ बढेको थियो।
चौथो नम्बर क्रिजमा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा ४३ रनको योगदान गरे। तीन चौका र चार छक्का प्रहार गरेका दीपेन्द्रलाई करण केसीले माइकल लेभिटबाट क्याचआउट गराए। ओपनर सैफ जाइवले ११ रनको योगदान गरे। पहिलो खेल खेलेका युएईका रोहन मुस्तफा चार रन बनाएर आउट हुँदा मध्यक्रमका आरिफ शेख तीन रन बनाएर रनआउट भएका हुन्।
काठमाडौंका रसिद खान र अविनाश बोहराले समान दुई विकेट लिए। साहव आलम र जेरार्ड इरास्मस समान एक विकेट हात पारे।
यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले पोखरालाई सात विकेटले हराउँदै तेस्रो जित निकालेको छ। निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्यो।
शुक्रबार हुने पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोज तथा दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ।