रवि लामिछानेलाई राति नै पोखरा लगियो

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण


सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलनमा सघाएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले बुधबार राति नै चितवनबाट पोखरा लगेको छ । बिहान लैजाँदा उनका समर्थकहरूको भिडभाड हुन सक्ने भएपछि प्रहरीले राति नै सडकमार्ग हुँदै पोखरा लगेको हो । 


चितवनको सहारा सहकारीको विषयमा अनुसन्धान गर्न प्रहरीले मंगलबार उनलाई चितवन लगेको थियो । बयान सकिएपछि बुधबार बेलुका नै लामिछानेलाई पोखरा पठाइएको चितवनका एसपी गौतम मिश्रले बताए । बुधबार बयान चलिरहँदा सडकमा रास्वपाका कार्यकर्ता र प्रहरीबिच भरतपुरमा झडप भएको थियो ।


लामिछानेविरुद्ध बुधबार मात्र पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । गितेन्द्रबाबु (जिबी) राईको समूहले सञ्चालन गरेको वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गैरकानुनी रूपमा गएको पाइएपछि पर्सामा पनि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो । 


यसअघि उनको कास्की, रुपन्देही र काठमाडौंमा बयान भइसकेको छ । जिबी राईको समूहले सञ्चालन गरेका पाँचवटा सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियालगायत कम्पनीमा लगिएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा कम्पनीको रकम खर्च गर्न उनको पनि भूमिका रहेको दाबी गरी पाँच जिल्लामा उनीविरुद्ध मुद्दा दायर हुन लागेको हो । सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा उनीमाथि दायर गर्न लागिएको छ । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा उनीमाथि मुद्दा दायर भएको आरोप लगाउँदै आएको छ । 
 

सुझावित समाचार