नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्स र लुम्बिनी लायन्सबिचको खेल रोमाञ्चक बन्यो । यस खेलमा समग्रमा १५ विकेट पतन हुँदा ३८४ रन बन्यो । खेलमा बाजी भने विराटनगरले मार्यो । त्यो पनि खेल सकिन एक बलअगाडि विराटनगरले लुम्बिनीलाई दुई विकेटले स्तब्ध पार्यो । आफ्नो तेस्रो खेलमा रोमाञ्चक जित निकालेको विराटनगर एनपिएलमा अहिलेसम्मकै सर्वाधिक लक्ष्य पछ्याउने टोली बनेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार दुई खेलमा पराजित भएको थियो । विराटनगरले तेस्रो खेलमा बहादुरीपूर्ण प्रदर्शन गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिलो ब्याटिङ गरी सात विकेट गुमाएर १९१ रन बनाएको थियो । प्रत्युत्तरमा विराटनगरले १९.५ ओभरमा आठ विकेटको क्षतिमा १९३ रन जोड्यो । यस खेलमा पराजित हुँदा विराटनगरको प्लेअफ सम्भावना कमजोर बन्ने थियो । तर, लोकेश बम, बसिर अहमेद र क्रिस सोलको आक्रामक ब्याटिङ कारण विराटनगरले २ अंक जोेड्यो ।
विराटनगरलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो । लुम्बिनीका कप्तान रोहितले खर्चिलो बलिङ गरिरहेका विवेक यादवलाई अन्तिम ओभर गर्न लगाए । विवेकले सुरुमै लगातार दुई वाइड फ्याँके । १९.१ ओभरमा उनले विपक्षी कप्तान सन्दीपको विकेट लिए । यादवले १९.२ ओभरमा डट फ्याँके । नवौँ विकेटका रूपमा स्कटल्यान्डका क्रिस सोलले स्ट्राइक लिएका थिए । उनी क्रिजमा रहँदा विराटनगरलाई ४ बलमा १३ आवश्यक थियो । उनले विवेकविरुद्ध एक छक्का र दुई चौका प्रहार गर्दै लुम्बिनीलाई स्तब्ध बनाए ।
विराटनगर पहिलो खेलमा सुदूरपश्चिमविरुद्ध ९० रन तथा जनकपुरसँग आठ विकेटले पराजित भएको थियो ।
दुई महत्वपूर्ण साझेदारी
विराटनगरको जितमा दोस्रो र पाँचौँ विकेटका लागि महत्वपूर्ण साझेदारी भएको थियो । दोस्रो विकेटका लागि मार्टिन गुप्तिल र लोकेश बमबिच ३७ बलमा ६२ रनको साझेदारी भएको थियो । त्यसपछि लोकेशले बसिर अहमेदसँग पाँचौँ विकेटका लागि ३४ बलमा ६६ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । यही दुई विकेटको अर्धशतकीय साझेदारीका कारण विराटनगरले २ अंक हात पारेको हो । न्युजिल्यान्डका गुप्तिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे । बसिरले २३ बलमा चार चौका र एक छक्का प्रहार गरी ४० रन जोडे । यसबाहेक नवौँ विकेटका लागि दीपक बोहरा र क्रिसबीच चार बलमा विस्फोटक १४ रनको साझेदारी भएको थियो । क्रिसले अन्तिम ओभरमा ३५० को स्ट्राइकमा ब्याटिङ गरेका थिए ।
लोकेशको अर्धशतकीय इनिङ्स
विराटनगरको जितमा ओपनर लोकेशले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले लगातार छैटौँ विकेटका लागि साझेदारी गर्दै जितको आधार बनाए । उनी आउट हुँदा विराटनगर १७.४ ओभरमा १६३/६ को अवस्थामा थियो । उनी आउट हुँदा विराटनगरलाई १४ बलमा २९ रन चाहिएको थियो । लोकेशलाई सिमोन्ड्सले सन्दीप जोराबाट क्याच आउट गराए । लोकेशले ४६ बल सामना गरी ६ छक्का र तीन चौका प्रहार गरी सर्वाधिक ७१ रनको योगदान दिए । उनी नै खेलका म्यान अफ दी म्याच भए ।
जितपछि लोकेशले खेलमा धेरै रन बनाउने रणनीतिका साथ क्रिजमा ओर्लेको बताए । ‘मेरो योजना एक्लैले भए पनि टोलीलाई जिताउँछु भन्ने थियो, बसिरसँग राम्रो साझेदारी भयो, तर अन्तिमसम्म टिक्न सकिएन,’ लोकेशले भने । लुम्बिनीका कप्तान रोहितले अन्तिममा बलिङ राम्रो हुन नसक्दा पराजित भएको बताए । ‘लोकेश र बसिरबिच राम्रो साझेदारी भयो, तर हाम्रो बलिङ सोचेजस्तो भएन,’ रोहितले भने ।
यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहितले २९ बलमा सर्वाधिक ४६ रन बनाएका थिए । टम मोरिसले १७ बलमा ३० र विवेक यादवले ७ बलमा ३ छक्कासहित आक्रामक १९ रन जोडे । तेस्रो खेलमा आएर विराटनगरका कप्तान सन्दीप लामिछानेले एनपिएलकै पहिलो विकेट लिएका छन् ।
काठमाडौंको पहिलो जित
कर्णाली याक्सले लगातार दोस्रो हारको सामना गरेको छ । काठमाडौं गुर्खाजले एनपिएलमा पहिलो जित निकाल्ने क्रममा कर्णालीलाई तीन विकेटले हराएको छ । यसअघि जनकपुर बोल्ट्ससँग कर्णाली पराजित भएको थियो । काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । त्रिवि मैदानमा कर्णालीले २० ओभरमा पाँच विकेट गुमाउँदै १४९ रन बनाएको थियो । प्रत्युत्तरमा काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाउँदै जित निकालेको हो ।
काठमाडौंलाई अन्तिम १२ बलमा २१ रन चाहिएको थियो । क्रिजमा कप्तान करण केसी र सुमित महर्जन थिए । कर्णालीका कप्तान सोमपाल कामीले १९औँ ओभरमा करणलाई बाउन्ड्री लाइनमा देव खनालबाट क्याच आउट गराए । करणले समान दुई छक्का र चौकासहित २८ रन बनाए । कर्णालीबाट अन्तिम ओभर नन्दन यादव गरे । काठमाडौंलाई अन्तिम ओभरमा ७ रन आवश्यक थियो । सुमित महर्जनले फिनिसरको भूमिका खेले । उनले ३७ बलमा सर्वाधिक ४० रन बनाए । अलराउन्डर जेरार्ड इरास्मसले २८ बलमा तीन चौका र दुई छक्कासहित ३८ रनको योगदान दिए ।
लगातार दोस्रो खेलमा धवनको अर्धशतक
भारतीय चर्चित ब्याट्सम्यान शिखर धवनले लगातार दोस्रो खेलमा अर्धशतकीय इनिङ्स खेल्दा पनि कर्णालीलाई जित दिलाउन सकेनन् । धवनले पहिलो खेलमा १४ र दोस्रो खेलमा ५१ रन जोडेका थिए । काठमाडौंविरुद्ध उनले ५२ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ७२ रन बनाए । काठमाडौंविरुद्ध १७.५ ओभरमा धवनले अर्धशतक बनाउँदा कर्णालीले पाँच विकेटको क्षतिमा १२४ रन बनाएको थियो । कर्णालीले पावर प्लेमा दुई विकेट गुमाएर ३९ बनायो । धवनले मात्रै ६ बल खेलेर ४ रन जोडेका थिए । तेस्रो नम्बर क्रिजमा आएका चाडविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन बनाए । बाबर हायत पनि १९ बलमा एक चौकासहित १० रनमा पेभिलियन फर्किंदा कर्णाली ८.१ ओभरमा ४९/३ को अवस्थामा थियो । पाँच नम्बर क्रिजमा आएका गुल्सन झाले १९ बलमा एक चौकासहित १२ रन बनाए । ओमानका जिसन मक्सुदले ११ बलमा १४ रनको योगदान दिए ।