खेलकुदमन्त्री तेजुलाल चौधरीले सन् २०२७ मा नेपाल र बंगलादेशमा हुने यू–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरामा आवश्यक पूर्वाधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार पोखरा रंगशाला निरीक्षणमा आएका मन्त्री चौधरीले पूर्वाधार निर्माणका लागि आवाश्यक बजेट निकासा गर्ने प्रतिबद्धता जनाएका हुन्।
एक साताअघि पोखराको मैदान निरीक्षणका लागि आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधिले प्रतियोगिताको लागि पोखरामा आवश्यक पहिलो चरणका आधारभूत पूर्वाधारसमेत नरहेको टिप्पणी गरेको थियो। यद्यपि, प्रतियोगिता हुन १८ महिना बाँकी रहेको र त्यसवेलासम्म आधारभूत पूर्वाधार तयार भए प्रतियोगता गर्ने सकिने टोलीको सुझाव थियो।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले रंगशालाको अवस्थाबारे मन्त्री चौधरीलाई जानकारी गराएका थिए।
आवश्यक आधारभूत संरचना अभावमा सन् २०२७ मा पोखरामा प्रतियोगिता नहुने भन्ने समाचार आएपछि आफू केही दिनदेखि चिन्तित रहेको मन्त्री चौधरी बताए। यसका लागि सके यसै आर्थिक वर्षमा रकमान्तर गरेर काम सुरु गर्ने नभए अर्को आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धतासमेत जनाए।
समाचार आउनुअघि सन् २०२७ मा हुने प्रतियोगिताबारेमा आफूलाई जानकारी नभएको पनि उनले बताए। कसैले पनि यसका बारेमा जानकारी नदिएको उनको भनाइ छ। पूर्वाधार निर्माणका लागि पाँच करोड आवश्यक पर्ने अनुमान गरिएकाले प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष सन् २०२७ को विश्व कप काठमाडाैंसँगै पोखरामा हुने विषयमा कुरा गर्ने र बजेटका लागि आवश्यक पहल सुरु गरिसकेको उनले बताए। पोखरामा प्रतियोगिता हुन्छ भन्नेमा ढुक्क हुन उनले आग्रह पनि गरे।
‘१०औँ राष्ट्रिय खेलकुदको मिति शुक्रबार घोषणा हुन्छ’
मन्त्री चौधरीले पोखरास्थित खेल संघसंस्थाका प्रतिनिधिहरूसँगको भेटमा कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद आउँदो फागुन अन्तिम साता गर्ने गरी मन्त्रालयले तयारी गरेको बताएका छन्। राखेपको बोर्ड बैठक बसेर आगामी शुक्रबार मिति सार्वजनिक गर्ने उनले बताए। शुक्रबार परिषद्को बैठक रहेकाले कहिलेबाट गर्ने भनी दिन तोक्ने उनको भनाइ छ।