नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्री ओलीको आग्रह

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्रमा अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गरेका हुन्। 

नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उनले भने, ‘नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन्। थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौँ।’ 

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहकार्यलाई सरकारले प्राथमिकता दिएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको कार्यक्रममा बताए। उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताए। 

चीन नेपालमा धेरै लगानी गर्ने मुलुकमध्ये एक रहेको र व्यापारमा दोस्रो ठुलो मुलुक भए पनि दुई देशबिचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनले बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबिचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए। साथै, नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने प्रतिबद्धता व्यक्त गरे।    

चीन नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने उल्लेख गरे। चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उनको भनाइ छ।

सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय नेपालले व्यावसायिक वातावरण बनाउन गरेको पहलबारे जानकारी गराए। सरकारले लगानी सहजीकरणसम्बन्धी आठवटा कानुन एकसाथ संशोधन गरेको र द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको उनको भनाइ छ। पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको जानकारी पनि ढकालले गराए। यसले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनले भनाइ छ।
 

सुझावित समाचार