जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट १९२ किलो ६ सय ग्राम लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ। प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएकाे प्रहरीको टोलीले हेटौँडा–१५ बाट १७५ किलो गाँजासहित दुईजनालाई पक्रेको हो।
हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १५८४ नम्बरको पिकअप गाडीमा उक्त गाँजा फेला परेको प्रहरी कार्यालयले जनाएको छ। गाडीको ढालामा खाली क्रेटले छोपेर ल्याएको अवस्थामा गाँजा फेला परेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। प्रहरीले गाडीचालक मकवानपुरको बकैया गाउँपालिका–४ का २४ वर्षीय सुमन लामा र गाडीमा रहेका बकैया–११ का २४ ववर्षीय सुशील भोलनलाई पक्रेको छ।
यस्तै, इलाका प्रहरी कार्यालय मनहरीको टोलीले राक्सिराङ गाउँपालिका–५ ढुंगुखोलास्थित बगरबाट १७ किलो ६ सय ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। शंकास्पद अवस्थामा झोला बोकेर हिँडिरहेका पर्सागढी नगरपालिका–८ बस्ने ४६ वर्षीय देवीलाल सहनी र पर्सागढी–१ का ३२ वर्षीय रामनारायण रामलाई गाँजासहित पक्राउ गरेको हो। उनीहरूको शरीर तथा झोला खानतलासीको क्रममा १७ किलो ६०० ग्राम गाँजा फेला परेको प्रहरी प्रवक्ता अर्यालले बताए। गाँजासहित पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
