हेटौँडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– ११ गोल्फिनटारका ५८ वर्षीय मन्ताज मियाँ रहेका छन्।
उनको हेटौंँडा– ११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मियाँको आफ्नै घरको तला थप्न पिल्लरको काम भइरहेको र सडकपारिबाट फलामको रड घरतर्फ ल्याउने क्रममा घरनजिकै रहेको ११ हजार भोल्ट करेन्ट भएको तारमा फलामको रडले छुँदा करेन्ट लागेको थियो।
गम्भीर अवस्थामा तत्काल उद्धार गरी उपचारका लागि उनलाई अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।