साउदी अरबमा अवैधानिक कामदार वैध बन्ने ६० दिने अवसर

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

खाडी देश साउदी अरबले अवैधानिक रूपमा बस्दै आएका विदेशी कामदारलाई ‘वैधानिक’ हुने अवसर प्रदान गरेको छ । साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी)ले ‘हुरुब’ लागेका कामदारहरूलाई अरू कम्पनीमा जान सक्ने गरी अवसर दिएको छ । जसको प्रत्यक्ष फाइदा नेपाली कामदारसँगै साउदी अरबमा रहेका विभिन्न देशका कामदारहरूले उठाउन सक्नेछन् ।

साउदीको स्थानीय भाषामा ‘हुरुब’ भन्ने गरिन्छ । जसको अर्थ आफ्नो कम्पनीमा रहेको कामदार लामो समयदेखि कम्पनीमा अनुपस्थित रहेको भनी अनलाइनमार्फत रिपाेर्ट गर्छन् । त्यसपछि सो कामदार साउदी अरबमा अवैधानिक भएको ठहर हुन्छ । यसैलाई सहज बनाउन मन्त्रालयले दुई महिनाको समय तोकिदिएको छ । आफ्नो मुलुकमा अवैधानिक रूपमा बसेका विदेशी कामदारलाई दुई महिनाभित्र वैधानिक भएर काम गर्न पाउने अवसर दिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसका लागि १ डिसेम्बरदेखि लागू हुने गरी सन् २०२५ को जनवरी २९ तारिकसम्म ६० दिनको समय दिइएको छ । उक्त अवधिमा किवा प्रणालीबाट हुरुब हटाई नयाँ कम्पनीमा जान सक्ने सुविधा रहेको छ । नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत डा. डमबरुबल्लभव पौडेलले सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनाको आधारमा हुरुब लागेका नेपालीहरूले फाइदा उठाउनुपर्ने बताएका छन् ।

धेरै नेपालीले साउदी अरबमा पुरानो कम्पनीबाट भागेर काम गरेको भन्ने जानकारी रहेको दूतावासमा रहेको भन्दै कार्यवाहक राजदूत पौडेलले अब कम्पनी परिवर्तन गर्न सकिने सुविधा दिएकोले त्यसको फाइदा लिनुपर्ने बताएका छन् ।

पुरानो कम्पनी छाडेर अवैध रूपमा काम गरिरहेका कामदारले सरकारले कामदारलाई लक्षित गरेको निर्णयको फाइदा नेपाली श्रमिकले पनि उठाउनुपर्ने भन्दै कार्यवाहक राजदूत पौडेलले दूतावासले सूचना जारी गरेको र आवश्यक सहजीकरण गर्ने बताएका छन् ।

सुझावित समाचार