सन् १९६० मा युरोपको भव्य ऐतिहासिक सहर इटलीको राजधानी रोममा सत्रौँ ओलम्पिक खेलको आयोजना भइरहेको थियो । २५ अगस्टदेखि ११ सेप्टेम्बरसम्म आयोजना हुने यस खेलमा सारा विश्वको ध्यान केन्द्रित थियो । यही ओलम्पिक खेलमा एक २० वर्षीया अश्वेत धाविका पनि भाग लिइरहेकी थिइन् । उनी यति तीव्र दौडिइन् कि यस ओलम्पिकका तीन अलग–अलग स्पर्धामा तीन स्वर्णपदक जितेर उनी संसारकै सबैभन्दा तीव्र गतिकी धाविका बनेर अलग्गै इतिहास रच्न सफल भइन् ।
रोम ओलम्पिकमा ८३ देशका पाँच हजार तीन सय ४६ खेलाडीले भाग लिएका थिए । यीमध्ये विश्व यिनै विल्मा रुडोल्फ नामकी २० वर्षीया धाविकाको असाधारण पराक्रम हेर्न उत्सुक थियो । तर, उनी अश्वेत भएकैले उनीतर्फ विश्व समुदायको ध्यान आकृष्ट भएको होइन । यथार्थमा चार वर्षको उमेरमै दोहोरो निमोनिया र कालाज्वर भएकाले उनी पोलियोग्रस्त थिइन् । पोलियोकै कारण उनले आफ्ना दुवै खुट्टामा ‘ब्रेस’ लगाउनुप¥यो । रुडोल्फ ११ वर्षकी हुन्जेल हिँड्न–डुल्नसमेत सक्दिनथिन् । तैपनि, उनी संसारकै सबैभन्दा तीव्र गतिकी धाविका बन्ने सपना देख्थिन् । हो, उनको त्यही सपना विपनामा परिणत भएको हेर्न उत्सुक थिए, विश्वभरका खेलप्रेमी ।
चिकित्सकले स्वीकृति नदिँदा पनि रुडोल्फले आफ्ना खुट्टाबाट ब्रेस निकालेर फ्याँकिदिइन् र स्वयंलाई मानसिक रूपमा तयार गरी दौडको अभ्यासमा जुटिन् । आफ्नो सपनालाई विपनामा परिणत गर्न उनी रातदिन अभ्यासमा जुटिन् । उच्च आत्मविश्वासकै कारण उनले असम्भव कार्यलाई सम्भव तुल्याएर देखाइदिइन् । ओलम्पिकजस्तो विश्व प्रतिस्पर्धामा उनले पहिलो प्रयासमै तीन स्वर्ण पदक जितेर विश्वलाई चकित तुल्याइन् । मानिसमा आत्मविश्वास छ भने जतिसुकै असम्भव कार्य पनि सम्भव बन्न सक्छ । कसैको विकलांगता उसको मार्गमा बाधा कहिल्यै बन्न सक्दैन ।