आहा... मनमोहक रारा (तस्बिरहरू)

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेशकै प्रमुख पर्यटकीयस्थल राराताल। मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ रारा राष्ट्रिय निकुञ्जभित्र रहेको यो ताल नेपालको सबैभन्दा ठुलो, गहिरो र प्रसिद्ध ताल हो।

समुन्द्री सतहदेखि २९९० मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल १०.६२७ वर्ग किलोमिटर छ। राराताललाई ‘स्वर्गकी अप्सरा’ भनेर पनि चिनिन्छ। यसको प्राकृतिक सुन्दरता अनुपम छ। तालको लम्बाइ ५.२ किलोमिटर र चौडाइ २.७ किलोमिटर र गहिराइ १६७.९०मिटर रहेको छ। 

तालदेखि करिब २ देखि ३ घण्टाको पैदलयात्रापछि मुर्माटप पुग्न सकिन्छ। यो समुन्द्री सतहदेखि तीन हजार सात सय ७० मिटर उचाइमा रहेको छ। यहाँबाट विभिन्न जिल्लाका सुन्दर हिमाल र अन्य मनोरम स्थलको दृश्यावलोकन गर्न सकिन्छ। यहाँबाट हुम्ला र बझाङको बिचमा रहेको सैपाल हिमाल, दार्चुलाको अपिहिमाल, रुकुममा पर्ने सिस्ने हिमाल, जुम्लाको कान्जिरोवा र मुगुमा रहेका कोइकी, चंखेली, खेस्मालिका, कालाकाडा पटन, ऋणमोक्ष दह, छायानाथ धाम चुच्चेमारेलगायत क्षेत्र देख्न सकिन्छ।

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रेडपान्डा, कस्तूरी, हिमाली कालो भालु, बँदेललगायत ५४ प्रजातिका स्तनधारी जीवजन्तु पाइन्छन्। एक हजार २४ प्रजातिका  वनस्पति, २९६ प्रजातिका चराचुरुंगी, सात प्रकारका माछा जसमा तीन प्रकारका रैथाने माछा जो विश्वमा दुर्लभ मानिन्छन्। उभयचर एक र घस्रने वन्यजन्तु एक रहेका छ्न्।

रारा राष्ट्रिय निकुञ्जको स्थापना ०३२ सालमा भएको र २४ साउन ०३४ को राजपत्रमा प्रकाशित भएको थियो। मध्यावधि क्षेत्र घोषणा ९ असोज ०६३ मा र राराताल क्षेत्रलाई सन् २००७ मा रामसार सूचीमा समेत सूचीकृत गरिएको छ।

सुझावित समाचार