बाराको महागढीमाई नगरपालिका– १, बरियारपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री सतिशकुमार सिंहले गढीमाईप्रति लाखौँ श्रद्धालु भक्तजनको गहिरो आस्था र विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी दिए।
प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा दिएको उनको भनाइ छ। मंसिर १ देखि सुरु भएको गढीमाई मेला मंसिर ३० गतेसम्म चल्नेछ।
मंसिर २३ गते राँगा र २४ गते बोकाको बलि दिइने कार्यक्रम तय भएको मेला व्यवस्थापन समितिले जनाएको छ।