ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ४ साँवामा खुला पुरुष फुटबल तथा अन्तरवडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। किराँत लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङनाम (न्वागी पर्व)को अवसरमा मंसिर ३० देखि पुस ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष मणिकुमार थलङले जानकारी दिए।
सदरमुकाम फुङलिङमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थलङले खुला पुरुष फुटबलतर्फकाे विजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने बताए। उपविजेताले ६१ हजार रुपैयाँ पाउनेछ। त्यस्तै, अन्तरवडास्तरीय भलिबलतर्फकाे विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
खेल आयोजक समितिका अध्यक्ष तथा फुटबलका क्षेत्रीय रेफ्री अजय थलङले खुला पुरुष दौड (मिनी म्याराथन) प्रतियोगिता पनि आयोजना गर्ने बताए। म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताका लागि मुख्य प्रायोजक मिक्वाखोला गाउँपालिका र प्रायोजक मध्य मेवा डेभलपर्स प्रालि रहेको आयोजकले जनाएको छ।
खेलकुदको माध्यमबाट मिक्वाखोला गाउँपालिकामा रहेका फुङफुङे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएको छ। पत्रकार सम्मेलनमा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार माबो लिम्बूलगायतले खेलका माध्यमबाट पालिकामा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।