कोशीमा कांग्रेसको गुटगत समानान्तर भेला

कांग्रेस केन्द्रीय कार्यालयले अवैधानिक भनेर परिपत्र गरे पनि शेखर समूहले भेला नरोक्ने

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

कोशी प्रदेशमा कांग्रेस संस्थापन र इतर समूहबिच विवाद उत्कर्षमा पुगेको छ । प्रदेशमा गुटगत समानान्तर भेला हुने भएपछि कांग्रेस–केन्द्रीय कार्यालयले परिपत्र नै गर्नुपरेको छ । कांग्रेस प्रदेश समितिले २२ मंसिरमा विराटनगरमा वार्षिक साधारण भेला आयोजना गर्ने निर्णय गरेको थियो । भेलालाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तय थियो । तर, शेखर कोइराला समूहले त्यसअघि नै समानान्तर भेला आयोजना गर्न लागेपछि केन्द्रीय कार्यालयले परिपत्र गरेको हो ।

विराटनगर कांग्रेस नेता डा.शेखर कोइरालाको गृहनगर हो । त्यसैले, कोइराला समूहले विराटनगरको जैन भवनमा मंगलबार दिउँसो १ बजे उद्घाटन सत्र आयोजना गर्ने गरी समानान्तर भेला आयोजना गरेको छ । बुधबार मोरङको बेलबारीमा बन्दसत्र सम्पन्न गर्ने तयारीसहित कोइराला समूहले कोशी प्रदेशका १३७ पालिका सभापति, काठमाडौं, चितवन, पोखरा, भरतपुर, ललितपुरलगायतका पार्टी सभापतिहरूसमेतको सहभागितामा समानान्तर भेला आयोजना गर्दै छ । 

उद्धव थापा, सभापति, कोशी कांग्रेस प्रदेश समिति
प्रदेशको सम्मेलनअघि भेला गर्नेबारे कसैले सल्लाह गरेको थिएन । मिडियामार्फत थाहा पाएपछि हामीले केन्द्रलाई जानकारी गराएका हौँ, हामी हाम्रो भेला सफल पार्न लागिपर्छौँ ।

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापासहितले १३ मंसिरमा प्रदेश पार्टी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी कोशी प्रदेशको भेला २२ मंसिरमा गर्ने जानकारी दिएका थिए । १५ मंसिरमा जिल्ला पार्टी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरेर कोइराला समूहले १८ र १९ मंसिरमा समानान्तर भेला आयोजना गर्ने जानकारी गराएको थियो । 

कांग्रेस प्रदेश समितिको भेलालाई काउन्टर दिन शेखर समूहले पहिले नै समानान्तर भेला आयोजना गरेपछि प्रदेश समितिले भेला रोक्न केन्द्रलाई गुहारेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेश समितिको २२ मंसिरमा प्रदेशस्तरीय भेलाबाहेक पार्टीको अरू कुनै भेला र कार्यक्रम नरहेको सोमबार परिपत्र गरेका छन् । सबै जिल्ला कार्यसमितिलाई निर्देशन गर्दै गरिएको परिपत्रमा कोशी प्रदेशका पालिका सभापतिहरूको भेला रोक्न पार्टी केन्द्रले निर्देशन दिएको छ । ‘कांग्रेसले सबै तहको प्रक्रियागत भेला थालेको हो, यहीक्रममा कोशी प्रदेश समितिको पनि २२ मंसिरमा भेला हुन लागेको हो, तर त्योभन्दा अगाडि कुनै भेला र कार्यक्रम नरहेको जानकारी गराइन्छ,’ परिपत्रमा भनिएको छ ।

मंगलबार समानान्तर भेलाको संयोजन गरिरहेका शेखर समूहको विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले आफूहरूको भेला पहिले नै निर्धारित भएकाले कुनै पनि हालतमा नरोकिने बताए । ‘कांग्रेसको विधानमा भेला कार्यक्रम नगर्नु भनेर कतै भनिएको छैन र केन्द्रले भेला रोक्नु पनि भनेको छैन । हामीले पार्टीलाई सृदृढ बनाउन १८ र १९ को मात्र नभएर २२ मंसिरको प्रदेश समितिको भेला पनि सफल बनाउनेछौँ । यो कुनै गुटको भेला नभएर मोरङका १७ वटै पालिकाले संयुक्त रूपमा आयोजना गरेको भेला हो, यसैले कुनै हालतमा रोकिँदैन,’ उनले भने ।

कोशी कांग्रेस प्रदेश समितिका सभापति तथा संसदीय दलका नेता उद्धव थापा संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौलानिकट हुन् । थापा नेतृत्वको प्रदेश समितिले २२ मंसिरमा पहिलो सम्मेलन गर्ने तय गरेको थियो । त्यसलगत्तै नेता कोइराला समूहले १८ र १९ मंसिरमा प्रदेश राजधानी विराटनगरमै पालिका र जिल्ला सभापतिहरूको भेला राखेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो । ‘प्रदेशको सम्मेलनअघि भेला गर्नेबारे कसैले सल्लाह गरेको थिएन । मिडियामार्फत थाहा पाएपछि हामीले केन्द्रलाई जानकारी गराएका हौँ, हामी हाम्रो भेला सफल पार्न लागिपर्छौँ,’ थापाले भने ।

२२ मंसिरमा हुने प्रदेश समितिको सम्मेलनमा सभापति देउवा प्रमुख अतिथि र अन्य पदाधिकारी नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ । भेलामा प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै बन्दसत्रमा प्रतिवेदन पारित गर्न ६ सय ४८ प्रतिनिधि सहभागी हुने बताइएको छ । 

कोइराला समूहले १८ र १९ मंसिरमा आयोजना गर्न लागेको पालिका सभापतिहरूको भेलाको प्रमुख अतिथि नेता डा. शेखर कोइरालालाई बनाइएको छ । भेलामा डा.मीनेन्द्र रिजाल, एनपी साउद, अर्जुननरसिंह केसीलगायतका नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।

सुझावित समाचार