लेस्टर सिटीका प्रशिक्षक रुड भान निस्ट्रोरोयले म्यानचेस्टर युनाइटेडमा बिताएको छोटो समय आफ्ना लागि यादगार रहेको बताएका छन् । युनाइटेडमा प्रशिक्षण दिन पाएकै कारण आफूलाई धेरै क्लबबाट प्रस्ताव आएको उनले बताए ।
शुक्रबार स्टिभ कुपरलाई प्रतिस्थापन गर्दै नेदरल्यान्डका पूर्वस्ट्राइकर निस्टोरोय लेस्टर सिटीको नयाँ प्रशिक्षक नियुक्त भएका हुन् । यसअघि उनले अन्तरिम प्रशिक्षकका रूपमा म्यानचेस्टर युनाइटेडलाई चार खेल खेलाएका थिए । उनले युनाइटेडमा प्रशिक्षण दिइसकेपछि विभिन्न क्लबले आफूलाई प्रस्ताव गरेको बताए ।
२०२२–२३ को सिजन उनल डच क्लब पिएसभी आइन्डहोभिनलाई प्रशिक्षण दिएका थिए । त्यतिवेला पिएसभीले डच लिगमा दोस्रो स्थान हासिल गरेको थियो भने डच कप पनि जितेको थियो । उनीसँग नेदरल्यान्ड्स र पिएसभी यू–१९ टोलीलाई प्रशिक्षण दिएको अनुभव पनि छ ।
‘मैले पिएसभीमा पूरै सिजन प्रशिक्षण सम्हालेको थिएँ । कप र च्यारिटी सिल्ड जितेको थिएँ । नेदरल्यान्ड्स र पिएसभीको यू–१९ टिमलाई प्रशिक्षण पनि दिएको थिएँ । तर, युनाइटेडमा केवल चार खेल खेलाउँदा जुन प्रतिक्रिया पाएँ, त्यस्तो प्रतिक्रिया कहिल्यै पाएको थिइनँ ।’ त्यही अनुभवले आफूलाई प्रिमियम लिगमा जोडिन प्रेरित गरेको उनले बताए ।
प्रिमियर लिगमा लेस्टर सिटी १६औँ स्थानमा छ । १३ खेलमा दुई जित र ४ बराबरी गरेर उसले १० अंक जोडेको छ ।