पर्यटन व्यवसायी विजय अमात्यलाई ३ प्रश्न

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

लक्ष्यअनुसार पर्यटक भित्र्याउन किन सकिएन ?
हामीले पर्यटकका लागि होटेलका कोठा अर्थात् सप्लाई बढायौँ, तर त्यसअनुरूप डिमान्ड अर्थात् कोठा भर्ने विषयमा होमवर्क गरेनौँ । होटेलमा धेरैको ध्यान गयो, तर त्यसका लागि ‘ब्याकअप’ पूर्वाधारमा हाम्रो ध्यान जान सकेन । सडक बनाएर मात्र हुँदैन, काठमाडौंबाट पोखरा जान १० घण्टा लाग्ने अवस्थाले देशका अन्य भागको स्थिति पनि दर्साउँछ । काठमाडौं विमानस्थलको अधिकतम क्षमता पूरा भइसक्यो । यसको विकल्पमा बनेका भैरहवा र पोखरा विमानस्थलबारे हामीले विदेशमा कत्ति पनि प्रचार प्रसार गर्न सकेनौँ या जानेनौँ । ती विमानस्थलसम्म पर्यटक कसरी ल्याउने, तिनलाई के–कस्ता सुविधा दिने भन्ने विषयमा हामीले गृहकार्य नै गरेनौँ । मार्केटिङमै कमजोरी भएपछि भ्रमण दशक घोषणाले मात्र पर्यटक बढ्दैनन् ।

भारतीय घट्नु र चिनियाँ बढ्न नसक्नुको कारण के होला ?
भारतीय पर्यटकलाई हाम्रो बजार, हवाई भाडा महँगो भयो । त्यति भाडामा उनीहरू थाइल्यान्ड, दुबईलगायत देश जान सक्छन् । पशुपतिनाथले मात्र भारतीय पर्यटकलाई आकर्षित गर्न सकेन । कोभिडपछि चिनियाँ पर्यटकको खर्च गर्ने क्षमतामा कमी आयो । त्यसले गर्दा चिनियाँ पर्यटक बढ्न सकेनन् । अर्को वर्षका लागि चीन सरकारले नै ‘भिजिट नेपाल’ घोषणा गरेको छ । यसबारे हामीले पर्याप्त तयारी गरी मार्केटिङ गर्न सक्यौँ भने चिनियाँ पर्यटक बढाउन सकिन्छ । 

के गरेमा पर्यटक संख्या बढाउन सकिन्छ ?
यसका लागि ब्याकअप पूर्वाधारमा ध्यान दिनुपर्छ । रोड कनेक्टिभिटीलाई भरपर्दो बनाउनुपर्छ । विदेश जाने नेपाली मजदुरलाई सम्पूर्ण सुविधा दिएर भैरहवाबाट उडाउने र काठमाडौं विमानस्थललाई चाहिँ पर्यटकका लागि मात्र प्रयोग गर्नुपर्छ । सडक पूर्वाधार भरपर्दो नहुन्जेल संख्याका पछि दौडिन छाडेर गुणस्तरीय पर्यटक भित्र्याई उनीहरूलाई गतिलो सेवा दिन सक्नुपर्छ । 

सुझावित समाचार