स्थानीय तहको उपनिर्वाचनको अन्तिम परिणामसँगै राजनीतिक दलहरूले परिणामको प्रारम्भिक समीक्षा गरेका छन् । राप्रपाबाहेक संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले उपनिर्वाचन परिणाममा उपस्थिति देखाएका छन् । उपनिर्वाचन परिणाममा पुरानो अंक बचाउन नसके पनि कांग्रेसले सन्तोषजनक भनेको छ । एमालेले अपेक्षाकृत नतिजा नआएको बताएको छ भने माओवादीले अर्को निर्वाचनको बलियो आधार तयार भएको प्रतिक्रिया दिएको छ । रास्वपाले आफ्नो एजेन्डा गाउँ–गाउँ पुगेको रूपमा अथ्र्याएको छ ।
राप्रपाले नतिजाको समीक्षा गर्ने बताएको छ भने जसपा नेपालले मधेशमा आफू नै मुख्य शक्ति भएको प्रमाणित भएको टिप्पणी गरेको छ । जुम्लामा मजदुर किसान पार्टीका उम्मेदवारको र झापामा स्वतन्त्रको जितले धेरैलाई आश्चर्यमा पारेको छ । जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, रास्वपा र नेमकिपासहित स्वतन्त्र उम्मेदवारले उपचुनाव जितेर उपस्थिति मात्रै जनाएनन्, ठुला दलमाथि दबाब बनाएका छन् ।
अहिले निर्वाचन भएका ४४ स्थानमध्ये २७ स्थान कांग्रेसले जितेको थियो । २ मंसिरमा ओखलढुंगा र कैलाली प्रमुखमा क्रमशः कांग्रेसका टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) लाई निर्विरोध निर्वाचित गराएर कांग्रेसले विजयको खाता खोलेको थियो । तर, कांग्रेसले यसअघि जितेका सबै स्थान जोगाउन नसकेर अपेक्षित नतिजा निकाल्न सकेन ।
गठबन्धन नगर्ने नीति तय गरेका कारण उसले पहिले जितेका स्थान सुरक्षित गर्दै मत बढाउने कुरालाई नै मुख्य चुनौतीका रूपमा आकलन गरेर निर्वाचण रणनीति बनाएको थियो । तर, केही ठाउँमा कांग्रेस–एमालेबिच गठबन्धन थियो । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमान्डर बनाएर केन्द्रीय नेताहरूदेखि सबै भ्रातृ संस्थालाई परिचालन गरेको थियो ।
महामन्त्री तथा उपनिर्वाचन संयोजक शर्माले संख्यागत रूपमा अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसले कम जित हासिल गरे पनि गठबन्धनविनैको जितलाई पार्टीले उपलब्धिमूलक मानेको बताए । प्रतिकूल राजनीतिक परिस्थितिमा पनि पुराना दलप्रतिको विश्वासमा कमी नआएको उनको जिकिर छ । कांग्रेसका लागि अहिलेको परिणाम अनपेक्षित नभएको र अहिलेको परिणामले ०८४ को निर्वाचनका लागि आधार तयार गरेको उनको भनाइ छ ।
‘उपनिर्वाचन भएको ४४ स्थानमध्ये ०७९ को निर्वाचनमा हामीले जितेका २७ ठाउँमा निर्वाचन भयो । अहिले अंकको हिसाबमा २७ पुगेन । हामीले तत्कालीन अवस्थामा अरू दलसँग मिलेर त्यो परिणाम ल्याएका थियौँ । तर, अहिले केन्द्रको नीति नहुँदा पनि पूर्वी रुकुम र पश्चिम रुकुममा भएको तालमेलबाहेकलाई हेर्ने हो भने कांग्रेस एक्लै लडेर ल्याएको परिणामलाई राजनीतिक र गुणात्मक रूपले अब्बल परिणाम मान्नुपर्छ,’ शर्माले भने, ‘त्यसवेलाभन्दा राजनीतिक प्रतिकूलता बढेको देखिन्छ । पुराना दलको पक्षमा मत आएको छ, त्यसमा पनि कांग्रेसलाई नयाँ ढंगले आएको छ र आउनुपर्दछ भन्ने जनमत प्रकट भएको छ । त्यसैले कांग्रेसले ऊर्जा र उत्साहको रूपमा यो परिणामलाई लिएको छ ।’
एमालेले अपेक्षाकृत उपचुनावमा उत्साहजनक नतिजा नआएको स्वीकार गरेको छ । ०७९ देखि नै लगातार कार्यकर्ता परिचालनका लागि मिसन ग्रासरुट, झुलाघाट–चिवाभञ्ज्याङ अभियान सम्पन्न गरेर ०८४ को निर्वाचनलाई लक्षित गर्दै एमालेले मिसन ८४ अभियान चलाइरहेको छ । एमालेले अघिल्लो चुनावमा जितेका सात वडाध्यक्षमा उपचुनाव भएको थियो ।
३७ स्थानको नतिजा आउँदा उसले एक पालिका अध्यक्ष र एक उपाध्यक्ष तथा पाँच वडाध्यक्ष जितेर पुरानै सिट संख्या जोगाए पनि नतिजा पार्टीको तयारी र अपेक्षाअनुसार परिणाम नआएको स्वीकार गरेको छ । एमालेले अपेक्षाकृत नतिजा नआएको कारण पार्टीभित्र गम्भीर समीक्षा गर्ने जनाएको छ । मतगणना जारी रहेको दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेले अग्रता लिइरहेको छ ।
स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अपेक्षाअनुसारको नतिजा नआएकाले पार्टीले गम्भीर मूल्यांकन र समीक्षा गर्ने बताए । यद्यपि, केही नयाँ स्थानमा जित हासिलले उपलब्धि प्राप्त गरेको उनको भनाइ छ । ‘पार्टीको तयारी र अपेक्षाअनुसारको परिणाम ल्याउन सकेनौँ । यस विषयलाई हामी पार्टीभित्रै गम्भीर समीक्षा र मूल्यांकन गर्छौँ,’ गौतमले भने । सिट संख्यामा अपेक्षाकृत जित नभए पनि मत भने प्रतिस्पर्धी मुख्य दलका रूपमा पार्टीले उल्लेख्य प्राप्त गरेको र नयाँ स्थानमा प्रमुख र उपप्रमुख जितेर उपलब्धि हासिल गरेको उनले दाबी गरे ।
माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिलेको परिणामले पार्टीलाई उत्साहित बनाएको दाबी गर्दै यसले अर्को निर्वाचनका लागि जितको आधार तयार गरेको बताए । ‘सापेक्षिक रूपमा परिणाम हाम्रा लागि सकारात्मक छ । ०७९ को निर्वाचनमा हामी गठबन्धन गरेर गएका थियौँ । गत निर्वाचनमा हाल उपनिर्वाचन भएको आठ स्थानमा जित हासिल गरेका थियौँ । अहिले नौ स्थानमा त जित भइसकेको छ । चार स्थानको परिणाम आउन बाँकी नै छ,’ सापकोटाले भने, ‘परिणाम जे भए पनि मत बढेको छ । यस अर्थमा पनि हामी उकालोतिरै छौँ । उपनिर्वाचन एक्लै लड्दा के हुने रहेछ भनेर हाम्रा लागि ‘टेस्ट केस’ पनि भयो । बाहिर प्रभाव छाड्न हामीले तालमेलको कोसिस भएको हो, तर करिब–करिब स्वतन्त्र र सिंगल प्रतिस्पर्धा पनि हो ।’
काठमाडौं– १६ मा जितबाहेक देशभरका अधिकांश स्थानमा जमानत नजोगिने गरी न्यून मत पाएको रास्वपाले चुनावी उपस्थितिलाई नै उपलब्धिका रूपमा प्रारम्भिक मूल्यांकन गरेको छ । ‘पार्टी सभापति हिरासतमा भएको वेला रास्वपाले चुनावमा भाग लिँदैन भन्ने सोच उपनिर्वाचनमार्फत चि¥यौँ । पार्टीका गतिविधि सुचारु छन् भन्ने सन्देश गएको छ,’ कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले नयाँ पत्रिकासँग भने, ‘अरू केही ठाउँमा सकारात्मक जित हासिल गर्ने प्रयास र केही ठाउँमा पार्टीको विचार स्थानीयकरण गर्न सफल भयौँ । काठमाडौं– १६ मा हाम्रै उम्मेदवार र झापाको कन्काई– ६ मा हामीले समर्थन गरेको उम्मेदवार विजयी भएका छन् ।’
रौतहटमा एउटा वडामा जित निकालेको एकीकृत समाजवादीले परिणामलाई मिश्रित रूपमा मूल्यांकन गरेको छ । ‘समग्रमा निर्वाचनको परिणाम मिश्रित रह्यो । एकीकृत समाजवादीले यसअघि जितेका स्थान खाली भएका थिएनन् । यो निर्वाचनमा हामी आफ्नै तरिकाले निर्वाचनमा होमियौँ । माओवादीले अलि प्रगति ग¥यो । एमालेले पनि केही प्रगति ग¥यो,’ वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘एक स्थानमा कांग्रेस–एमाले मिलेर लड्दा पनि धेरै अन्तरमा हारेको छ । नेमकिपा, एकीकृत समाजवादी, जसपा, रास्वपा सबै पार्टीले खाता खोले । एकीकृत समाजवादीको मतको परिणामका आधारमा भन्नुपर्दा हामी वेलैमा लाग्नुपर्छ । अलि मिहिनेत गर्नुपर्छ भन्ने देखाएको छ ।’
कतै जित निकाल्न नसकेको राप्रपाले त्यसलाई समीक्षाको विषय मानेको छ । प्रवक्ता मोहन श्रेष्ठले चुनावी परिणाम राप्रपाका लागि अनपेक्षित नभएको बताए । ‘उपचुनावमा जे परिणाम आयो त्यो हाम्रा लागि अनपेक्षित थिएन । किनभने ०७९ को निर्वाचनमा अहिले निर्वाचन भएका कैयन निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवार थिएनन् । ती स्थानमा हामीले उम्मेदवार उठायौँ । यो हाम्रा लागि सकारात्मक हो,’ उनले भने, ‘जुन ठाउँमा ०७९ मा हाम्रा उम्मेदवार थिए ती ठाउँमा मत बढेका छन् । यति मात्रै ले पुग्दैन । हामी पार्टी बैठकमा गम्भीर समीक्षा गर्छौँ र रणनीति बनाएर अगाडि बढ्छौँ ।’
जसपा नेपालले मधेशको ठुलो दल जसपा नै भएको प्रमाणित भएको दाबी गरेको छ । ‘यो उपनिर्वाचन आफैँमा सरकार र दलहरूको परीक्षा थियो । वडामा नै किन नहोस् उपनिर्वाचनमा मधेशको सबैभन्दा ठुलो पार्टी जसपा हो भनेर साबित भएको छ । खसेको मतमध्ये २७.९ प्रतिशत मत हामीले पाएका छौँ, जुन कांग्रेस र एमालेले पाएको मतभन्दा बढी हो, हामी सफल भएका छौँ,’ प्रवक्ता मनीष सुमनले भने ।
जनमत पार्टीकी नेतृ अनितादेवी यादवले आफ्नो पार्टीले परिणामलाई सन्तोषजनक लिएको बताइन् । ‘हामीले परिणामलाई सन्तोषजनक मानेका छौँ । स्थानीय तहको निर्वाचनमा परिणामको एउटै मात्र नभई धेरै फ्याक्टरले काम गर्छन् । हामीले आर्थिक चलखेल गरेका छैनौँ । जति मत पायौँ पारदर्शी मत छ,’ उनले भनिन् ।