सुदूरपश्चिममा उपनिर्वाचन : वडाध्यक्षमा कांग्रेसको ‘क्लिनस्विप’, स्वामीकार्तिकमा एमालेको पुनरागमन

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिममा उपनिर्वाचन भएका चारवटै वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेले विरासत फर्काएको छ । कांग्रेसले यसअघि आफूले जितेका दुईवटा वडा सुरक्षित गर्दै थप दुई वडामा जित हासिल गरेको हो । एमाले र नेकपा माओवादी केन्द्रले ०७९ को निर्वाचनमा जितेका एक–एक वडा गुमाएका छन् । 

उपनिर्वाचनमा डोटीको पूर्वीचौकी गाउँपालिका– ६, बझाङको सुर्मा गाउँपालिका– ४, दार्चुलाको दुहुँ गाउँपालिका– ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

पूर्वीचौकी– ६ मा कांग्रेसका मोहन थापा ४६८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ मत पाए । त्यहाँ रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत र माओवादीका देवीलाल थापाले २६ मत पाएका छन् । ०७९ सालको निर्वाचनमा यो वडा कांग्रेसले नै जितेको थियो ।

अघिल्लो निर्वाचनमा एमालेले जितेको सुर्मा– ४ को उपनिर्वाचनमा कांग्रेसका धीरेन्द्र पुजारा विजयी भएका छन् । उनले ६५७ मत पाए । त्यस्तै, एमालेका लखिचन्द्र बोहराले ४८७ र माओवादीका पुष्कर बोहराले १७ मत पाएका छन् ।

भीमदत्त– ६ मा ६२० मतान्तरसहित विजयी हुँदै कांग्रेसका प्रकाशबहादुर चन्दले पार्टीको विरासत जोगाए । उनले एक हजार १०७ मत र एमालेका बहादुर चन्दले ४८७ मत पाए । प्रकाश बहादुरका भतिजा हुन् । त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले ३६९, नेकपा एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्दले २२५, रास्वपाका रामदत्त भट्टले २१८, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १४२ मत पाए । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले १२७ र माओवादीका नानाराम कोलीले १२२ मत पाएका छन् ।

दुहुँ– ५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मत पाएर विजयी भएका छन् । ०७९ को निर्वाचन जितेको यो वडामा माओवादी तेस्रो बनेको छ । एमालेका मानसिंह बडालले ३५८ र माओवादीका वीरसिंह कार्कीले ९८ मत प्राप्त गरेका छन् ।

उपनिर्वाचन भएका सुदूरपश्चिमका ६ मध्ये पाँच स्थानमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा एमालेको समेत समर्थनमा कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् ।  
 

स्वामीकार्तिकमा एमालेको पुनरागमन
बाजुराको स्वामीकार्तिकको उपाध्यक्षमा भने एमालेले पुनरागमन गरेको छ । उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी निर्वाचित भएकी छिन् । उनले कांग्रेसकी पुल्तीसरा शाहीलाई २६६ मतान्तरले हराइन् । भण्डारीले एक हजार ७४० मत, शाहीले एक हजार ४७४ र एकीकृत समाजवादीका जवा शाहीले ५५३ मत प्राप्त गरेका छन् । 

०७९ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको थियो । उक्त निर्वाचनमा भण्डारी कांग्रेसकी मैना जोशीसँग पराजित भएकी थिइन् । जोशीको निधन भएपछि उपनिर्वाचन भएको हो । ०७४ मा भने यहाँ एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । 

यहाँ माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिँदै एमालेकी भण्डारीलाई सहयोग गर्ने निर्णय गरेको थियो । पार्टी गाउँ कमिटीले गरेको निर्णयलाई लिएर माओवादीभित्र विवादसमेत देखिएको थियो । 
 

सुझावित समाचार