ठमेलको हरियाली सहकारीमा ६ सय बचतकर्ताको २७ करोड जोखिममा

सहकारी घोटालामा चन्द्रागिरि नगरपालिका– १२ का वडाध्यक्ष नै संलग्न, चैतदेखि नै सहकारीको कार्यालय बन्द

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

आकर्षक ब्याजको आशामा ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारीमा बचत गरेका ६ सय बचतकर्ताको झन्डै २७ करोड रुपैयाँ जोखिममा परेको छ । सहकारीविरुद्ध अहिले प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान गरिरहेको छ ।

सहकारीको २२औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीको आव ०७८/७९ को वित्तीय कारोबार २६ करोड ८२ लाख २४ हजार ६७७ रुपैयाँ रहेको देखिन्छ । पीडितका अनुसार सहकारीमा ६०० आसपास बचतकर्ता छन् । ठमेलमा रहेको सहकारीको कार्यालय गत चैतदेखि बन्द रहेको छ ।

प्रहरीका अनुसार रकम हिनामिनामा चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनसमेत संलग्न रहेका छन् । उनी सहकारीका कोषाध्यक्ष हुन् । त्यस्तै, रकम हिनामिनामा सुरेश श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, दीपेश सिल्पकार, सरोज तुलाधर, दिलबहादुर श्रेष्ठलगायत रहेका छन् ।

सुरेश सहकारीका अध्यक्ष हुन् भने कृष्णबहादुर उपाध्यक्ष, दीपेश सचिव हुन । सरोज र दिलबहादुर भने कार्यसमिति सदस्य हुन् । कृष्णबहादुर पक्राउ परेका छन् । प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सत्यनारायण थापाले हरियाली सहकारी ठगीको सम्बन्धमा जाहेरी परेपछि अनुसन्धान भइरहेको बताए । ‘हरियाली बचत तथा ऋण सहकारीले ठगी गरेको भन्दै जाहेरी परेको छ । त्यसमाथि अनुसन्धान भइरहेको छ । सहकारीका उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठ पक्राउ परेका छन्, केही फरार छन्, खोजी जारी छ,’ उनले भने ।

पटक–पटकको आग्रहपछि पनि बचत रकम फिर्ता नभएपछि पीडित उजुरी लिएर बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पुगेका थिए । सहकारीमा कैफियत देखिएपछि कार्यालयले घटनाको अनुसन्धान गर्न प्रहरीलाई सिफारिस गरेको थियो । सोही सिफारिसपछि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान थालेको हो ।

सहकारीमा दैनिक गुजाराका लागि ज्याला मजदुरी गर्नेदेखि वैदेशिक रोजगारीमा श्रीमान् गुमाएपछि प्राप्त बिमाबापतको रकमसम्म राखिएको थियो । तर, सहकारीमा राखेको सबै रकम जोखिममा परेपछि बचतकर्ता तनावमा छन् ।

काठमाडौं बस्ने पाल्पा रैनादेवी ४९ वर्षीय इन्दिरा रायमाझीले सहकारीले बचत रकम डुबाउँदा घर न घाटको भएको बताइन् । ‘दैनिक गुजाराका लागि म सानो टेलर चलाउने गर्छु । त्यहीँबाट आर्जन गरेको रकम सहकारीमा राखेकी थिएँ । तर, पटक–पटक फिर्ता माग्दा पनि पाउन सकिएन । मेरो सहकारीमा पाँच लाख २८ हजार ६ सय ७५ रुपैयाँ बचत छ । अहिलेसम्म एक रुपैयाँ पनि फिर्ता पाएको छैन,’ उनले भनिन् ।

धनकुटा पाख्रिबासकी ३९ वर्षीय रविना शर्मा(नाम परिवर्तन) वैदेशिक रोजगारीमा मृत्यु भएका श्रीमान्को बिमाबापत प्राप्त सबै रकम सहकारीमा राखिन् । सुरुको केही वर्ष त राम्रो ब्याज प्राप्त भयो । तर, पछि सहकारीले सबै रकम डुबाइदियो । रकम डुबेको खबर उनले घरका सासु÷ससुरा र छोरीलाई समेत भन्न सकेकी छैनन् ।

उनले आफ्नो पीडासमेत सार्वजनिक गर्न सकेकी छैनन् । उनका अनुसार सहकारीमा ३० लाख ९८ हजार आठ सय १४ रुपैयाँ बचत थियो । ‘श्रीमान् वैदेशिक रोजगारीका क्रममा कतारमा थिए । उनको त्यहीँ मृत्यु भयो । बिमाबापत रकम प्राप्त भएको थियो । सबै लगेर सहकारीमा राखेँ । तर, सहकारीले सबै रकम डुबाइदियो,’ उनले भनिन्, ‘रकम डुबेपछि सबै योजना चौपट भएका छन् । दैनिक गुजाराका लागि गार्मेन्टमा काम गर्दै आएकी छु । सासु÷ससुराले थाहा पाए मलाई घरबाट निकाल्छन् ।’

सहकारीले नैकापकी आकांक्षा पोखरेलको पनि १३ लाख ६५ हजार ३०० रुपैयाँ डुबाइदिएको छ । पटक–पटकको प्रयासपछि पनि उनले रकम फिर्ता लिन सकेकी छैनन् । चन्द्रागिरि नपा–११ का वासुदेव श्रेष्ठले सबै गरी सहकारीले ६ सयभन्दा धेरै बचतकर्ताको झन्डै २६ करोड डुबाएको बताए । ‘पीडितमध्ये मेरा आफन्त पनि छन्,’ उनले भने ।

पीडितका अनुसार सहकारीका पदाधिकारीले बचतकर्ताको रकमबाट विभिन्न ठाउँमा जग्गा खरिद गरेको बताउँछन् । ‘चितवनमा मात्रै न्हुच्छेबहादुरको नाममा चार बिघा जमिन छ भन्ने आएको छ । अन्य ठाउँमा पनि यिनीहरूले निजी प्रयोजनमा सम्पत्ति जोडेको देखिन्छ,’ वासुदेवले भने ।

सुझावित समाचार