भीष्म जोशीको निर्देशनमा सांगीतिक कथा ‘कोठा’ सार्वजनिक

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

भीष्म जोशीको निर्देशनमा बनेको सांगीतिक कथा ‘कोठा’ सार्वजनिक भएको छ। आर्ट घर युट्युब च्यानलबाट उक्त लघु फिल्म सार्वजनिक भएको हो।

यसमा प्रविन के पाण्डे, सबी थापा, सरोज खड्का, कल्पना शाही, शीतल पाण्डे, सन्तोष विष्ट, सृष्टि ऐर, सागर भुसाल, अनिल दाहाललगायतले अभिनय गरेका छन्। गीतको शब्द देवव्रत र निर्देशक जोशीले मिलेर लेखेका हुन्। 

प्रशान्त सिवाकोटीले संगीत संयोजन गरेको गीतमा सिवाकोटी र रुबी श्रेष्ठको स्वर छ। अध्ययनका लागि काठमाडौंको कीर्तिपुरमा डेरा गरेर बसेका अछामका एक युवाको संघर्ष यात्रालाई यसमा देखाइएको छ। उनले देखेको सपना र भोगेका संघर्ष नै यस फिल्मको मूल कथा हो।

सुदूरपश्चिमको पहिचान मानिएको देउडा भाकालाई गीतमा स्थान दिइएको छ। निर्देशक जोशीले  सहर आएपछि आफ्नो अनुभूतिकै आधारमा फिल्म तयार गरेको बताए। ‘यो आमयुवाको भोगाइ हो। सपना देख्नेहरूको कथा हो। गाउँ छाडेर आएपछि काठमाडौंमा त्यसलाई पूरा गर्न गरिने संघर्षको कथा हो,’ उनले भने। सरोज श्रेष्ठले छायांकन गरेको फिल्मलाई रिदेन श्रेष्ठ र धीरज अधिकारीले सम्पादन गरेका हुन्। 

निर्देशक जोशीले यसअघि आर्ट घरबाटै ‘समय र उमेर’ सांगीतिक फिल्म सार्वजनिक गरेका थिए। उक्त फिल्ममा एक युवाको बाल्यकालका स्मृतिहरू समेटिएको छ। 

सुझावित समाचार