स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा ६८.०८ प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईका अनुसार ८ हजार ५३ मतदाता रहेको वडामा ५ हजार ४८३ अर्थात् ६८.०८ प्रतिशत मत खसेको हो।
विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा २ हजार ४७४ र प्रतिभा माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा ३ हजार १२ मत खसेको मुख्य निर्वाचन अधिकृत भट्टराईले बताइन्।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएसँगै रिक्त भएको अध्यक्ष पदका लागि आइतबार निर्वाचन भएको हो।
निर्वाचनमा ९ राजनीतिक दल र ३ स्वतन्त्र गरी १२ उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेसका अर्जुनप्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रविकुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेसनकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार छन्।
यस्तै, स्वतन्त्र उम्मेदवारका रूपमा अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा छन्। मतगणना आजै रातिबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माविको सभाहलमा गरिने मुख्य निर्वाचन अधिकृत भट्टराईको भनाइ छ।