गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा ५७.०५ प्रतिशत अर्थात् दुई हजार ३३४ मत खसेको छ। वडा नं १ मा चार हजार ९१ मतदाता छन्।
नेपाल राष्ट्रिय सर्वोदय माविको दुई मतदान केन्द्रमा एक हजार १७२ मत खसेको सहायक मतदान अधिकृत कमल पन्थीले बताए। सरस्वती मावि मतदानस्थलको दुई मतदान केन्द्रमा सात सय ३० मत खसेको मतदान अधिकृत हरिप्रसाद गैरेले जानकारी दिए।
त्यस्तै, जनज्योति मावि मतदान केन्द्रमा चार सय ३२ मत खसेको मतदान अधिकृत हरिहर शर्मा तिवारीले बताए। निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार वडाध्यक्ष पदको लागि आठजनाले मनोनयन दर्ता गराएका थिए। जसमा नेकपा एमालेको तर्फबाट दलबहादुर थापा, कांग्रेसबाट आनन्द श्रेष्ठ, माओवादी केन्द्रका दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ईश्वरी खाती छन्।
यसैगरी, स्वतन्त्र उमेदवारको रूपमा योगेन्द्र खरेल, पुमानन्द खरेल र कुलबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन्।
तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि मुसिकोट नगरपालिका–१ मा उपनिर्वाचन भएको हो। तीनै सुरक्षा संयन्त्रद्वारा सुरक्षाको व्यवस्था कडा गरेर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजै मतगणना गर्ने तयारी गरेको छ। मुख्य निर्वाचन अधिकृत युवराज गौतमले मतगणनास्थल बनाइसकेकाले मतपेटीका संकलन भएपछि केही प्रक्रिया पूरा गरेर गणना गरिने बताए।