‘देशको पीडा विदेशको पिर’ पुस्तक सार्वजनिक

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

आइटी एक्स्पर्ट सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पिर’ सार्वजनिक भएको छ। धुम्बाराहीस्थित अकमा होटेलमा आयोजित एक कार्यक्रमबिच स्वामी डा. केशवानन्द गिरीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो।

प्रमुख अथितिका साथमा कार्यक्रमका सभापति डा. कृष्णचन्द्र साह, साहित्यकारद्वय राजेन्द्र विमल र डा.रामदयाल राकेश, कानुनविद् उमेशचन्द्र झा, वरिष्ठ पत्रकार तथा पुस्तकका समीक्षक कृष्णमुरारी भण्डारी, सम्पादक दिनेश पौडेल र लेखक झाबाट संयुक्त रूपमा कृतिको लोकार्पण भएको थियो।

कार्यक्रममा डिएल भण्डारीको ‘दी अनसिन पोएट अफ सिमरा – कवि सदानन्द झा’ पनि सार्वजनिक गरिएको थियो।

प्रमुख अथिति स्वामी केशवानन्दले आफूलाई लेखक र किताबको शक्तिले तानेर कार्यक्रममा ल्याएको बताए। विमोचित पुस्तकले धेरै कुराहरू आउँदो पुस्तामा हस्तान्तरण गरेको बताउँदै उनले पुस्तकमा प्रयोग गरिएको भाषा र त्यसको शुद्धताको तारिफ गरे।

पुस्तकको समीक्षकको भूमिकामा रहेका कृष्णमुरारी भण्डारीले मधेश, पहाड र हिमाललाई बुझ्न यो किताब पढ्न आवश्यक रहेको जिकिर गरे। 

साहित्यकार राजेन्द्र विमलले किताब पढ्दा एकैपटक धेरै विद्वान र सन्तहरूको सम्झना भएको बताए। ‘जहाँ हृदय झुक्दैन त्यहाँ शिर झुकाउन हुँदैन। तर, यो कृति पढ्दा, कवि सदानन्दप्रति मेरो हृदय झुक्यो,’ उनले भने।

कार्यक्रममा पुस्तक विमोचनअघि दाजुभाइ सुनीलकुमार झा र विजय झाका तर्फबाट शिक्षकहरूलाई सम्मान गरिएको थियो। झा दाजुभाइलाई प्राथमिकदेखि इन्जिनियरिङसम्म पढाएका गुरुहरूलाई फूलमाला, दोसल्ला र आदरपत्र अर्पण गरिएको थियो।

नेपाली र मैथली भाषाको सम्मिश्रणमा सञ्चालित कार्यक्रममा सञ्चालकको भूमिकामा साहित्यकार धीरेन्द्र प्रेमर्षि थिए।

सुझावित समाचार