लाहिरु चम्किँदा जनकपुरको विजयी सुरुवात

एनपिएल २०२४

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण
लाहिरु चम्किँदा जनकपुरको विजयी सुरुवात

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै विराटनगर र जनकपुरका खेलाडी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एकदिवसीय विश्वकपमा दोहोरो शतक बनाएका मार्टिन गप्टिल र लाहिरु मिलान्थाले पहिलो दिन अर्धशतक बनाउँदा नेपाली खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन्

लाहिरु मिलान्था र हर्ष थाकरले शतकीय साझेदारी गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उद्घाटन खेलमा जनकपुर २७ बलअघि आठ विकेटले विजयी भयो । जितपछि टोलीले महत्वपूर्ण दुई अंक जोडको छ । टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले १९ ओभरमा अलआउट हुँदै एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा ब्याटिङ गरेको जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै जित निकालेको हो । खेलमा दुई अर्धशतक बने । प्लेयर अफ दी म्याच जनकपुरका लाहिरु र विराटनगरका मार्टिन गप्टिलले अर्धशतक बनाएका हुन् । यस खेलमा नेपाली कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

पराजितपछि न्युजिल्यान्डका खेलाडी मार्टिनले टियू मैदानमा ब्याटिङका लागि सहज नभएको बताए । ‘यो पिचमा खेल्न निकै गाह्रो छ । त्यसैले पनि हामीले योजनाअनुसार रन बनाउन सकेनौँ,’ पहिलोपटक नेपाल आएका गप्टिलले भने । उनले सन् २०१५ मा भएको एकविदसीय विश्वकपमा वेस्ट इन्डिजविरुद्ध अविजित २३७ बनाएका थिए । 

जितपछि जनकपुरका कप्तान अनिलकुमार शाहले लाहिरु र हर्ष चम्किँदा जित निकाल्न सफल भएको बताए । ‘लाहिरु र हर्ष चम्किएपछि हामीले जित निकाल्न सफल भयौँ । साँच्चै यो मैदानमा रन बनाउन गाह्रो छ । आज बलरको दिन थियो ।’

११६ रनको साझेदारी 
जनकपुरको जितमा उत्तर अमेरिकी खेलाडीद्वय लाहिरु र हर्ष थाकरले शतकीय साझेदारी गरे । दुई खेलाडीले ८१ बलमा अविजित ११६ रन बनाएका हुन् । ओपनरद्वय मार्की आसिफ सेख र कप्तान अनिल १.६ ओभरमा १५ रन बनाउँदा आउट भएपछि लाहिरु र थाकरले जित निकालेका हुन् । ३० वर्षीय बायाँ हाते ब्याटर तथा विकेटकिपर लाहिरुले ५३ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए । यसअघि श्रीलंकाको कोलम्बोमा जन्मिएर अमेरिकाको लागि खेलिरहेका लाहिरुले ३९ बलमा ६ चौका र दुई छक्कासहित अर्धशतक बनाएका थिए । उनी प्रतियोगितामा अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । तेस्रो नम्बर क्रिजमा आएका उनले ११.१ ओभरमा अर्धशतक बनाउँदा जनकपुरले दुई विकेट गुमाउँदै ८८ रन जोडेको थियो । २७ वर्षीय क्यानेडियन खेलाडी हर्षले ३३ बलमा दुई चौकासहित २९ रन बनाएका हुन् । दुई खेलाडीबिच शतकीय साझेदारी भएको थियो । 

गप्टिलको अर्धशतक छायामा
विराटनगरका लागि न्युजिल्यान्डका ३९ वर्षीय अनुभवी ब्याटर मार्टिनले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ओपनर गप्टिलले ४३ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ५५ रन बनाए । गप्टिल ३६ बलमा सात चौका र एक छक्कासहित एनपिएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनी हर्ष थाकरको बलमा कप्तान अनिलबाट क्याच–आउट हुन पुगेका थिए । ओपनर गप्टिलले अर्धशतक बनाउँदा विराटनगर १२.१ ओभरमा ८३–३ को अवस्थामा थियो । यसबाहेक अकिब इल्यासले १८ बलमा १५ रन बनाए । दुई खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् । ओपनर लोकश बमले ५, निकोलस किर्टनले ९, बसिर अहमदले ७, राजेश पुलामीमगरले १, प्रतिश जिसीले २ , कप्तान सन्दीप लामिछाने ७, क्रिस सोल ४, जितेन्द्र मुखिया गोल्डेन डकआउट भए । 

ललितको नाममा पहिलो विकेट
नेपाल राष्ट्रिय टोलीका सदस्यसमेत रहेका जनकपुरका ललितनारायण राजवंशी एनपिएलमा पहिलो विकेट लिने खेलाडी बनेका छन् । उनले खेलमा सर्वाधिक तीन विकेट हात पारे । चार ओभरमा २८ रन खर्चिएका छन् । ललितले दोस्रो ओभरको पहिलो बलमा विराटनगरका लोकेश बमलाई बोल्ड गरेर यो उपलब्धि हासिल गरेका थिए । त्यस्तै, किशोर महतो र हर्ष थाकरले समान दुई विकेट तथा बेन माइक र मोहमद मोहसिनले समान एक विकेट लिएका थिए । यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीले गरेका थिए । उद्घाटन सत्रअघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्वीकार गरेका थिए । 

एनपिएल विजेतालाई एक करोड ११ लाख
क्यानले एनपिएलको च्याम्पियनलाई एक करोड ११ लाख रुपैयाँ दिने भएको छ । समग्रमा पुरस्कार राशि दुई करोड ११ लाख हुनेछ । क्यान पुरस्कार राशि एक करोड दिने दोस्रो संघ बन्यो । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग विजेता टोलीलाई एक करोड दिएको थियो । २०७१÷०७२ सालमा भएको राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई कीर्तिमानी एक करोड पुरस्कार दिएको थियो । तत्कालीन अध्यक्ष गणेश थापाले दिएको पुरस्कार रकम एक दशकपछि तोडिएको छ । क्यानले दोस्रो हुने टोलीलाई ५० लाख, तेस्रोलाई ३० लाख र चौथो हुनेलाई २० लाख रुपैयाँ दिने जनाएको छ ।

भद्रगोल व्यवस्थापन, भिडमा च्यापिएर सात घाइते
आयोजक क्यान व्यवस्थापनमा चुकेपछि उद्घाटन खेल भद्रगोलमय भयो । खेलको पहिलो इनिङ्समा पूर्वीतर्फको गेट नै भत्काएर दर्शक खेल हेर्न प्रवेश गरेका थिए । केही दर्शक भिडमा च्यापिए । त्यसपछि नेपाल प्रहरीले लाठीचार्ज गर्दा भागदौडमा परेर सातजना घाइते भएका छन् । सातजनामध्ये दुईजना सुरक्षामा खटिएका प्रहरी रहेको नेपाल प्रहरीले जनाएको छ । दुई प्रहरीमध्ये एकजना सिकिस्त भएका छन् । घाइते प्रहरी जवान अजय तामाङको अवस्था गम्भीर छ । 

क्यानले एक दिनअघि नै सामान्यतर्फ १० हजार र भिआइपीतर्फ एक हजार टिकट अनलाइन बिक्री भएको बताएको थियो । तर, उद्घाटन खेलमा दर्शक संख्या बढेपछि क्यान व्यवस्थापनमा कमजोर देखियो । दर्शकले आधिकारिक विक्रेता खल्तीले मैदानबाटै अनधिकृत रूपमा टिकट बेच्दा समर्थकको चाप बढेको आरोप लगाएका छन् । उनीहरूले क्यान र पदाधिकारीविरुद्ध नारीबाजी गरेका थिए । उद्घाटन खेल दिउँसो १२:१५ मा भए पनि दर्शक भने ९ बजे नै त्रिवि परिसरमा पुगेका थिए । केहीले भने टिकट काटेर पनि खेल हेर्न नपाएको आरोप लगाएका छन् । यसपछि क्यानले टिकटको शुल्क फिर्ता गर्ने बताएको छ । 

महत्ववपूर्ण दुई अंक हात पर्‍यो : अनिलकुमार शाह, कप्तान, जनकपुर
लाहिरु र हर्ष चम्किएपछि हामीले जित निकाल्न सफल भयौँ । महत्ववपूर्ण दुई अंक हात पारेको छ । हामी बाँकी खेल पनि जित्न चाहन्छौँ । साँच्चै यो मैदानमा रन बनाउन गाह्रो छ । आज बलरको दिन थियो । यो प्रतियोगिता सफल बनाउन सबै क्षेत्रबाट समर्थन हुनुपर्छ ।

सोचेजस्तो प्रदर्शन भएन : मार्टिन गप्टिल, खेलाडी, विराटनगर 
टियूको पिचमा खेल्न निकै गाह्रो छ । त्यसैले पनि हामीले योजनाअनुसार रन बनाउन सकेनौँ । पहिला ब्याटिङ गर्न निकै गाह्रो थियो । सोचेजस्तो प्रदर्शन पनि भएन । नेपाली समर्थकअघि रमाइलो गर्दै खेलेँ । माहोल निकै राम्रो लाग्यो ।

See More On

सुझावित समाचार