खाँदबारीमा भलिबल खेलाडी जेनिसा विश्वकर्मा सम्मानित

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

यू–२० महिला राष्ट्रिय भलिबल टिमकी क्याप्टेन जेनिसा विश्वकर्मालाई गृहजिल्ला संखुवासभामा सम्मान गरिएको छ। खाँदबारी नगरपालिकाले शनिबार आफ्नै कार्यालयमा भलिबल खेलाडी जेनिसालाई नगद ५१ हजार, सम्मानपत्रद्वारा सम्मान गरेको हो।

खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य र प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले संयुक्त रूपमा नगदसहित सम्मान गरेका हुन्। जेनिसा खाँदबारी नगरपालिका-८ का स्थायी बासिन्दा हुन्। उनी भलिबलका साथै कलेज पढ्र्दै आएकी छिन्। जेनिसा न्यू डाइमन्ड एकेडेमीमा आबद्ध भई भलिबल खेल्दै आएकी छिन्। 

खाँदबारी नगरपालिकाका मेयर थपलियाले खाँदबारीकी जेनिसाले भलिबलमार्फत राष्ट्रियस्तरमा भिन्न पहिचान बनाउन सफल भएको बताए। उनले नगरपालिकाले सधैँ सम्मान र सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए। 

जेनिसालाई शनिबार नै खाँदबारी नगरपालिकाका साथै खाँदबारी युथ क्लब, नमस्ते बिहानी क्लबले समेत सम्मान गरेको थियो। जेनिसा खाँदबारी नगरपालिका–५, माल्टामा आयोजित अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिता खेल्न संखुवासभा आएकी हुन्। 

प्रशिक्षक कुमार राई सम्मानित
खाँदबारी–५ माल्टा घर भई हाल काठमाडौ न्यू डाइमन्ड एकेडेमीका संस्थापक तथा भलिबल प्रशिक्षक कुमार सम्मानित भएका छन् । 
उनलाई खाँदबारी युथ क्लब, नमस्ते बिहानी क्लबले सम्मानपत्रद्वारा सम्मानित गरेको हो। 
 

सुझावित समाचार