लम्कीचुहामा महोत्सवका लागि विद्यालय बन्द

शुक्रबार, १४ मंसिर, २०८१
डिजिटल संस्करण

व्यावसायिक संस्थाले आयोजना गरिरहेको महोत्सवका लागि कैलालीको लम्कीचुहा नगरपालिकाले नगरभित्रका विद्यालय बन्द गराएको छ। नगरपालिकाले सूचना जारी गर्दै १४ देखि १६ मंसिरसम्म सबै सामुदायिक तथा निजी विद्यालयहरूमा बिदा दिएको जनाएको छ।

लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा लम्कीमा लम्की महोत्सव भइरहेको छ। ६ मंसिरदेखि सुरु भएको महोत्सव १६ मंसिरसम्म सञ्चालन हुनेछ। लम्कीचुहा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत तप्त भण्डारीले सूचना जारी गर्दै महोत्सवमा विद्यार्थीका लागि विज्ञान प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएकाले सबै विद्यालयमा स्थानीय बिदा दिइएको जनाएका छन्।

व्यावसायिक रूपमा भइरहेको महोत्सवलाई मध्यनजर गर्दै बिदा दिइएको भन्दै नगरपालिकाको निर्णयलाई लिएर स्थानीयस्तरमा आलोचना भइरहेको छ। नगर प्रमुख सुशीला शाही विदेश भ्रमणमा छिन्। उपप्रमुख जुना चौधरीले अहिले नगरको नेतृत्व गरिरहेकी छिन्।

नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ३ का अध्यक्ष लवबहादुर शाहले स्थानीय सरकारले विद्यालयमा ६ दिन बिदा दिन पाउने व्यवस्थाअनुसार महोत्सवका लागि शिक्षा समितिले निर्णय गरेर बिदा दिएको बताए। महोत्सव आयोजकबाट पनि बिदाका लागि आग्रह आएको उनले बताए।

‘केही विद्यालयहरूले नृत्य प्रतियोगितामा भाग लिएका छन्, विज्ञान प्रदर्शनी पनि भइरहेको छ,’ उनले भने, ‘विद्यार्थी सहभागी हुन पाउन् भनेर बिदा दिएका हौँ।’ लम्कीचुहाभित्र सामुदायिक र निजी गरी ४२ वटा विद्यालय रहेका नगरपालिकाले जनाएको छ।

सुझावित समाचार