कमजोर बन्दै एम्बाप्पेको च्याम्पियन्स लिग जित्ने सपना

शुक्रबार, १४ मंसिर, २०८१
डिजिटल संस्करण

पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध हुँदा केलियन एम्बाप्पेको एउटै सपना युरोपियन च्याम्पियन्स लिग जित्ने थियो । च्याम्पियन्स लिगको सर्वाधिक विजेता रियलमा आबद्ध हुँदै उनले आफ्नो सपना पूरा गर्ने उद्देश्य राखेका थिए । यसै कारण नै उनी रियलमा आएका हुन् । तर, रियलमा आएको पहिलो सिजनमा उनको यो सपना पूरा नहुने देखिएको छ । च्याम्पियन्स लिग जित्ने एम्बाप्पेको सपना डगमगाउँदै गएको छ । 

च्याम्पियन्स लिगमा बुधबार लिभरपुलसँगको २–० हारसँगै रियल पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ । जितसँगै लिभरपुल नकआउट चरणमा पुगेको छ । नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा लिभरपुलले पाँच खेलमा १५ अंक जोडेको छ । रियलविरुद्ध दोस्रो हाफमा एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुलले १–० को अग्रता लिएको थियो । मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्न नसके पनि कोडी गाक्पोले लिभरपुललाई २–० को जित पक्का पारे । 

साबिक विजेता रियल ६ अंकसहित २४औँ स्थानमा छ । शीर्ष आठ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । लिगमा नवौँदेखि २४औँ स्थानका टोलीले प्लेअफ खेल्नुपर्नेछ । रियलका स्टार खेलाडी एम्बाप्पेले अहिलेसम्म १८ खेलमा नौ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा राम्रो खेल्न सकेका छैनन् । रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले एम्बाप्पेको प्रदर्शनप्रति धैर्य गर्नुपर्ने बताए । ‘उनी अहिले कठिन समयबाट गुज्रिरहेका छन् । एम्बाप्पे असाधारण खेलाडी हुन्,’ एन्सेलोटीले भने, ‘यो अवस्थाबाट चाँडै पुनरागमन गर्नेछन् ।’ अब रियलले एटलान्टासँग खेल्नेछ । लिभरपुलको सामना जिरोनासँग हुनेछ । 

मार्टिनेजको उत्कृष्ट प्रदर्शन
च्याम्पियन्स लिगअन्तर्गत बुधबार एस्टन भिल्ला र युभेन्टसबिचको खेल गोलरहित बराबरीमा सकियो । अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले भिल्लालाई फेरि एकपटक हारबाट बचाएका थिए । खेलको अन्तिम मिनेटमा उनले उत्कृष्ट बचाउ गरेका थिए । युभेन्टसका फ्रान्सिस्को कोन्सेइसाओले डिबक्सबाट प्रहार गरेको बललाई गोलरक्षक मार्टिनेजले गोललाइनबाट अविश्वसनीय ढंगले रोक्न सफल भए । रिप्लेले बल लगभग पूरै लाइन पार गरिसकेको देखाए पनि मार्टिनेजले गोल हुन दिएनन् । सन् २०२२ कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

सुझावित समाचार