रवि लामिछानेलाई काठमाडाैं लगियो

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाडाैं लगिएको छ। 

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगी ठगी गरेको भन्ने मुद्दामा बयान र अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई हवाई मार्ग हुँदै काठमाडाैं लगेको हो। पोखरा विमानस्थलबाट बुद्ध एयरकाे १७ः१५ को उडानमार्फत लामिछानेलाई काठमाडाैं लगिएको हो।

काठमाडाैंमा बयान र अनुसन्धान सकेर लामिछानेलाई पुनः पोखरा ल्याइनेछ। यसअघि २ मंसिरमा सो सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेसँगै अन्यका विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम ठगी प्रकरणमा २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछाने त्यसपछि हालसम्म कास्की प्रहरी हिरासतमा छन्। पोखरा ल्याएसँगै उनलाई ४ कात्तिकमा पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन, तेस्रोपटक तिहार बिदासमेत जोडेर २० कात्तिकमा १० दिन, चौथोपटक २५ कात्तिकमा १३ दिन र पाँचाैँपटक गत आइतबार ९ मंसिरमा १५ दिन म्याद थप गरिएको हो। लामिछानेलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। 

लामिछानेलाई यसअघि प्रहरीले रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर खर्च भएको सम्बन्धमा बयानसँगै अनुसन्धानका लागि २७ कात्तिकमा रुपन्देही लगेर ३० कात्तिकमा पोखरा ल्याएको थियो। 

सोही सहकारी ठगीसँग जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई काठमाडौं लगेर बयान लिएर पोखरा ल्याइसकिएको छ।

रविलाई काठमाडाैं ल्याउने भएपछि काठमाडाैंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएकाे छ।

सुझावित समाचार