दार्चुला–तिंकर सडक निर्माणका लागि छुट्टै योजना बनाउने मन्त्रीको प्रतिबद्धता

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

राष्ट्रिय गौरवको महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिंकर सडक योजनालाई छुट्टै योजनाअन्तर्गत बनाउने मन्त्रीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । दार्चुला–तिंकर सडक योजनाको निरीक्षण गर्न आएका रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दार्चुला–तिंकर सडकलाई छुट्टै योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

निरीक्षण भ्रमणमा दार्चुलाबाट सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू र प्रधानसेनापति अशोकराज सिग्देलसमेतको उपस्थिति थियो । दार्चुला–तिंकर सडक खण्डको हवाई निरीक्षणपछि सुनसेरामा भएको ब्रिफिङ कार्यक्रममा भौगोलिक अवस्थाका कारण पनि छुट्टै योजनाको रूपमा अघि बढाउन सबै सहमत भएको  पूर्वमन्त्री बडूले जानकारी दिए ।

यसअघि ९ पुस ०८० मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पनि यस्तै प्रतिबद्धता जनाएका थिए । तर, सरकार परिवर्तन भएपछि निर्णय कार्यान्वयन हुन सकेन । अहिलेका भ्रमण विगतको भन्दा फरक रहेको बडूले बताए । उनले भने ‘दुई ठुला दल मिलेर बनेको सरकारले स्थायित्व प्रदान गर्छ । तत्कालै मन्त्री फेरबदल हुने अवस्था नहुने हुँदा अहिलेको भ्रमण उपलब्धिमूलक भएको म मान्दछु ।’

सेनाले ०७७ सालमामा सडक बनाउने जिम्मा लिएको१० वर्षमा ट्र्याक खोल्ने लक्ष्य लिएको छ ।

निर्माण ढिलाइले स्थानीय आक्रोशित
व्याँस गाउँपालिका– १ का स्थानीयले सडक निरीक्षणमा आएका मन्त्रीको टोलीलाई बाटो र सडक छिटो बनाउन माग गरेका छन् । व्याँस गाउँपालिका– १ का स्थानीय योगेशसिंह बोहराले स्थानीयको चाहना नेपालतर्फ कम्तीमा घोरेटो बाटो भए पनि खोलिदिनुपर्ने बताए ।  ‘हामीले हरेक वर्ष खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपरेको छ,’ आक्रोश पोख्दै उनले भने ‘‘कालापानीको नाम मात्रै लिने, तर जनताका लागि घोरेटो बाटोसमेत बनाउन सक्दैनौ भने यहाँ किन आउँछौ । पटक–पटक हेलिकोप्टर लिएर आउने खर्चले यहाँको बाटो खुल्थ्यो होला ।’

यता व्याँस गाउँपालिका– ४ सुनसेराका स्थानीयले पनि नेतृत्वप्रति खबरदारी गरेका छन् । उनले भने ‘राष्ट्रिय गौरवको योजना भनिएको छ । अहिलेसम्म १३ किलोमिटर मात्रै सडक कहिकहि ट्र्याक खुलाइएको छ । सेनाले निर्माण गरिरहेको ७९ किलोमिटरको जिरो प्वाइन्टदेखि एक–दुई किलोमिटरसम्म ट्र्याक्टर जान सक्ने अवस्था छ ।’

नेपाली कांग्रेस व्याँसका सभापतिसमेत रहेका नरेन्द्रदत्त भट्टले महाकाली करिडोरअन्तर्गत सुनसेरासम्म पनि नियमित यातायात सञ्चालन हुन नसकेको बताए ।  ‘सेनाले चाँडो बनाउला भन्ने सोचेको सडक पनि उस्तै छ । पटक–पटक हेलिकोप्टरमार्फत नेता आएर यहाँको विकास हुनेवाला छैन्,’ उनले भने, ‘यो ठाउँको सडकको ट्र्याक खुलाउन बजेट दिनुप¥यो ।’

सुझावित समाचार