यू–१९ महिला विश्वकप गर्न प्रस्तावित पोखरा मैदान : पूर्वाधार नहुँदा आइसिसीका प्रतिनिधि निराश

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रूपमा यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाललाई सहआयोजक बनाएको छ । १३ नोभेम्बर २०२२ को आइसिसी बैठकले बंगलादेश र नेपाललाई यू–१९ महिला विश्वकप आयोजक राष्ट्र घोषणा गरेको थियो । सहआयोजक राष्ट्र बनेपछि नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं र पोखराका मैदानमा विश्वकप गर्ने प्रस्ताव आइसिसीलाई पठाएको थियो ।

विश्वकप आयोजनाका लागि आवश्यक पूर्वाधारको निरीक्षण गर्न आइसिसीका दुई प्रतिनिधि नेपाल आएका हुन् । आइसिसीका सिनियर म्यानेजर रोहित पोद्दारले मंगलबार र बुधबार सबै क्षेत्रको निरीक्षणपछि यू–१९ विश्वकप आयोजना गर्न पोखरा मैदानमा प्रारम्भिक आधारभूत पूर्वाधारसमेत नभएको बताएका छन् ।

उनले पोखरामा विश्वकप आयोजनाका लागि आफूहरू सकारात्मक भए पनि आवश्यक पूर्वाधार नरहेको प्रस्ट पारे । ‘भौगोलिक र प्राकृतिक रूपले पोखराको जस्तो मैदान विश्वका अन्य स्थानमा पाइँदैन,’ पत्रकार सम्मेलनमा पोद्दारले भने, ‘तर, मैदान रहेको स्थान मात्र राम्रो भएर हुँदैन, त्यहाँ क्रिकेटका लागि आवश्यक आधारभूत पूर्वाधार पनि अनिवार्य हुनुपर्छ ।’ क्रिकेट मैदानको पूर्वाधारमा सुधार गरे विश्वकप आयोजनाका स्वीकृति दिइने उनले बताए ।

ड्रेसिङ रुमदेखि शौचालयसम्म अभाव
आइसिसीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता र विश्वकप खेलाउन निश्चित मापदण्ड पूरा गर्नुपर्ने निर्देशन दिएको हुन्छ । विश्वकपजस्तो प्रतियोगिता आयोजना गर्न मैदानमा डे«सिङ रुम, शौचालय, एक्सेस रोड, ब्रोडकास्टर वा मिडिया बक्स, प्लेएर बक्स, अम्पायर स्कोररका लागि डेसिङ रुम र भिआइपी कक्ष अनिवार्य मानिन्छन् । यसका साथै रंगशालामा डाइनिङ रुम, स्कोर बोर्डसँगै आउटफिल्ड आवश्यक पर्ने पोद्दारले बताए । आधारभूत पूर्वाधार तयार हुँदा सन् २०२७ को विश्वकप मात्र नभएर आइसिसीले पोखरामा अन्य अन्तर्राष्ट्रियस्तरको क्रिकेट आयोजना गराउन सक्ने उनको भनाइ छ । ‘आइसिसीले दिएको मापदण्ड पूरा हुँदा पोखरामा धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना हुन सक्छ,’ उनले भने, ‘यहाँ आवश्यक पूर्वाधार तत्काल निर्माण गर्नुपर्ने देखिन्छ ।’आइसिसीका डेभलपमेन्ट अफिसर एमडी एम्युनल इस्लामले क्यानलाई पोखरा मैदानमा पहिलो चरणकै मापदण्ड पूरा गर्न सुझाव दिए । उनले पोखरालाई आफूले पहिलो रोजाइको भेन्युका रूपमा राखेको, तर पूर्वाधारका कारण निराश भएको बताए । ‘यहाँको सौन्दर्यका कारण पोखरा मैदानलाई पहिलो रोजाइका रूपमा लिएका थियौँ, तर स्थलगत भ्रमणपछि निराश बन्यौँ,’ इस्मालले भने, ‘सामान्य पूर्वाधारसमेत बनेका छैनन् ।’ उनले मैदानको भौतिक पूर्वाधार मात्र नभएर अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटेल हुनुपर्ने बताए ।

पूर्वाधार बनाउन पाँच करोड लाग्ने
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीका प्रतिनिधिले भनेजस्तै पोखराको क्रिकेट रंगशालामा अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार बनाउन पाँच करोड लाग्ने बताएका छन् । विश्वकप हुने मैदानमा पूर्वाधार निर्माण गर्न बजेट कहाँबाट आउने प्रश्न उनले गरेका छन् । ‘आइसिसीले भनेजस्तै पूर्वाधार बनाउन पाँच करोड लाग्छ, यो रकम कसले दिन्छ ?’ चन्दले भने, ‘अहिले क्यानले आवश्यक रकम जुटाउन कसरत गरिरहेको छ ।’ उनले राज्यबाट बजेट निकासा हुने आश्वासन पाए पनि अहिलेसम्म नभएको बताए ।

‘विश्वकप आयोजना हुने रंगशालालाई अपग्रेड गर्न सरकारले बजेट दिने भनेको थियो, तर अहिलेसम्म प्राप्त नहुँदा समस्या आएको हो,’ चन्दले भने, ‘सुरुमा आधारभूत संरचना निर्माण गरे आइसिसीले सहयोग गर्नेछ ।’ आइसिसीले अन्तर्राष्ट्रियस्तरको पूर्वाधार भएको मैदानमा लगानी गर्ने क्यान अध्यक्ष चन्दको भनाइ छ ।

दोस्रो रोजाइमा पोखरा मैदान
सन् २०१९ मा पोखरामा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला क्रिकेट भएको थियो । आइसिसी र एसिसीकै मान्यताप्राप्त क्रिकेट पोखरामा गराउन पोखरा रंगशालामा आवश्यक पर्ने पूर्वाधार बनेका थिए । नयाँ पिचदेखि मैदानसम्म अन्तर्राष्ट्रियस्तरकै थियो । तर, साग सकिएको ६ वर्षसम्म यहाँ केही सुधार भएन । यद्यपि, क्यान अध्यक्ष चन्दले काठमाडौंपछि दोस्रो रोजाइका रूपमा पोखरालाई राखिएको जनाए ।

‘पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुपर्छ, अहिले यहाँ पूर्वाधारमा समस्या आएको छ,’ चन्दले भने, ‘तीन वर्षअघि नै पोखरामा विश्वकप गराउने निर्णय भएको थियो ।’ विश्वकप गराउन पूर्वाधार निर्माणका लागि क्यानले धेरैपटक तीन तहका सरकारसँग छलफल गरेको उनले बताए । ‘हामीले विश्वकपबाहेक अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गराउन सबैसँग छलफल गरेका थियौँ, तर कोही पनि गम्भीर भएनन्,’ उनले भने ।

चार सय दर्शक क्षमताको भिआइपी प्यारापिट बन्दै
पोखरा मैदानमा अहिले चार सय दर्शक क्षमताको भिआइपी प्यारापिट बनिरहेको छ । यसबाहेक अन्य संरचना निर्माणप्रति कसैले चासो नदेखाएको प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । ‘राखेपले मैदानमा चार सय सिट क्षमताको भिआइपी प्यारापिट बनाइरहेको छ,’ सिग्देलले भने, ‘तर, आवश्यक अन्य पूर्वाधार कसले बनाउने केही पनि निर्णय भएको छैन ।’ पूर्वाधार निर्माणमा आवश्यक बजेट सम्बन्धित निकायबाट निकासा नहुँदा समस्या आएको उनको भनाइ छ ।

सुझावित समाचार