आइसिसीका पोडर र इस्लामले मंगलबार पोखरा मैदानको निरीक्षण गर्दै तीन वर्षपछि नेपालमै आयोजना हुने यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि पूर्वाधार थप्नुपर्ने सुझाव दिए
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का दुई प्रतिनिधिले यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्न पोखरा रंगशालामा भौतिक पूर्वाधार सुधार गर्नुपर्ने सुझाव दिएका छन् । सन् २०२७ मा नेपालसँगै बंगलादेशले संयुक्त रूपमा यू–१९ विश्वकप आयोजना गर्दै छन् । नेपाल प्रतियोगिताको सहआयोजक हो । विश्वकप आयोजना गर्न मैदान र भौतिक पूर्वाधारको निरीक्षण गर्न आइसिसीका सिनियर म्यानेजर रोहित पोडर र डेभलपमेन्ट अफिसर एम्युनल इस्लाम मंगलबार पोखरा आएका हुन् ।
आइसिसीका प्रतिनिधिहरूले मैदानका बारेमा अन्य केही प्रतिक्रिया नजनाए पनि आवश्यक अन्य पूर्वाधार अपुग भएको जनाएका हुन् । ‘यहाँको सबै अवस्था राम्रो छ, तर आवश्यक अन्य पूर्वाधार नरहेको र बनेको रहेनछन्,’ मैदानको निरीक्षण गर्दै उनीहरूले भने । प्रतिनिधिका अनुसार मैदानको पिच राम्रो अवस्थामा छ । निरीक्षणको क्रममै स्थानीय सम्बन्धित निकाय र नेपालका क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूलाई १३औँ दक्षिण एसियाली खेलकुदपछि मैदानमा आवश्यक संरचना किन बन्न नसकेको प्रश्न गरेका थिए । ०७६ सालको १५–२४ मंसिरसम्म १३औँ सागको आयोजक सहर पोखरा पनि थियो ।
‘१३औँ साग सम्पन्न भएको लामो समय हुँदा पनि मैदानमा आवश्यक संरचना किन बन्न नसकेको हो,’ आइसिसीका प्रतिनिधिहरूले प्रश्न गरेका थिए । क्यानले पोखरा र काठमाडौंमा यू–१९ विश्वकप गर्ने तयारी गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पोडर र इस्लामलाई मैदानको बारेमा जानकारी दिए ।
तीन वर्षभित्र संरचना बन्ने
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले प्रतियोगिता आयोजना गर्न तीन वर्ष अवधि बाँकी रहँदा आफूहरूले पोखरा मैदानमा आवश्यक पूर्वाधार बनाउने विश्वास दिलाए । ‘हामीहरूसँग तीन वर्ष अवधि छ, यसबिचमा मैदानमा आवश्यक संरचना तयार गर्न सक्छौँ,’ मेयर आचार्यले भने, ‘यसमा महानगरले आवश्यक सहयोग गर्नेछ ।’ मैदानका पिच क्युरेटर प्रदीप राउतले पोखरा रंगशाला र मैदानको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
आइसिसीको टोलीले युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापासँग भेटेका छन् । मन्त्री थापाले प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने आधारभूत संरचना निर्धारित समयअगाडि पूरा हुने विश्वास दिलाए । ‘आवश्यक संरचनाका कारण प्रतियोगिता नहुने अवस्था हुँदैन, त्यो निर्माण हुन्छ, यसका लागि प्रदेश सरकार तयार छ,’ थापाले भने, ‘पोखरालाई भेन्युको रूपमा पारित गर्न आग्रह गरिएको छ ।’ टोलीले बुधबार पोखरामा रहेका तारे होटेलहरूको अवस्थाको निरीक्षण गर्नेछ ।