आइपिएलकै सबैभन्दा महँगा खेलाडी बने ऋषभ

लखनउ सुपर जायन्टले २७ करोड भारु खर्चेर ऋषभलाई सबैभन्दा महँगा खेलाडीका रूपमा भित्र्यायो

सोमबार, १० मंसिर, २०८१
डिजिटल संस्करण

ऋषभ पन्त, लखनउ २७ करोड भारु

विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)को सबैभन्दा महँगा खेलाडी भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त बनेका छन् । आगामी सिजनका लागि दुबईमा भएको खेलाडी अक्सनमा लखनउ सुपर जायन्टले २७ करोड भारु खर्चेर उनलाई भित्र्याएको हो । आइपिएल अक्सनमा पहिलोपटक कुनै पनि खेलाडीमाथि २७ करोड भारुको बोली लगाइएको हो । गत सिजन कोलकाता नाइट राइडर्सले अस्ट्रेलियाका मिचेल स्टार्कमाथि २४ करोड ७५ लाख भारु खर्चेको थियो । ऋषभले कीर्तिमान बनाउनुअघि मिचेलको अनुबन्ध रकम नै सर्वाधिक महँगो थियो ।

एक वर्षपछि आइपिएल खेलाडी अक्सनमा नयाँ रेकर्ड बन्यो । २७ वर्षीय ऋषभ सन् २०२४ को सिजनमा दिल्ली क्यापिटल्सका कप्तान बन्दै आइपिएलमा फर्किएका थिए । सन् २०२२ को डिसेम्बरमा भएको कार दुर्घटनामा उनले पुनर्जन्म पाएका थिए । 

सन् २०२५ को अक्सनमा ऋषभको औसत मूल्य दुई करोड भारु राखिएको थियो । ऋषभलाई भित्र्याउन होडबाजी चलेको थियो । तर, अन्तिममा लखनउले बाजी मार्‍यो । टी–२० फर्म्याटमा उनलाई आक्रामक ब्याट्सम्यानका रूपमा लिने गरिन्छ । सन् २०१८ को सिजनमा उनले १७३ को स्ट्राइकमा ६८४ रन बटुलेका थिए । सन् २०१९ मा उनी दिल्लीका लागि दोस्रो सर्वाधिक रनकर्ता बनेका थिए । त्यसवेला उनले ४८८ रन जोडेका थिए । ऋषभकै उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्ली सन् २०१२ पछि आइपिएलको प्लेअफमा पुगेको थियो । 

श्रेयस अयर (पन्जाब किंग्स) २६ करोड ७५ लाख भारु
आइपिएलका दोस्रो महँगा खेलाडी पनि भारतीय श्रेयस अयर बनेका छन् । पन्जाब किंग्सले उनलाई २६ करोड ७५ लाख भारुमा किनेको छ । श्रेयसले आफ्नो कप्तानीमा गत वर्ष कोलकातालाई आइपिएल च्याम्पियन बनाएका थिए । तर, कोलकाताले उनलाई यसपटक रिटेन गरेन । उनले नयाँ सिजनका लागि आफूलाई अक्सनमा राखे । श्रेयसको सुरुवाती मूल्य दुई करोड भारु थियो । श्रेयसले सन् २०२२ देखि २०२४ सम्म कोलकाताबाट खेलेका थिए । त्यसअघि उनी ६ सिजन दिल्लीमा रहे । उनले भारतका लागि १४ टेस्ट, ६२ एकदिवसीय र ५१ टी– २० आई खेलेका छन् ।

बैंकेटस अयर (कोलकाता) २३ करोड ७५ लाख भारु
साबिक विजेता कोलकाताले आगामी सिजनका लागि बैंकेटसलाई २३ करोड ७५ लाख भारु खर्चेर भित्र्याएको छ । अक्सनमा उनी तेस्रो महँगा खेलाडीका रूपमा बिक्री भए । खेलाडी अक्सनमा उनको औसत मूल्य दुई करोड राखिएको थिए । उनलाई अनुबन्ध गर्न रोयल च्यालेन्जर्स बेंग्लोरले २३ लाख ५० लाख भारुसम्म बोली लगाएको थियो, तर कोलकाताले २५ लाख थप्दै भित्र्यायो । सन् २०२४ को सिजनमा उनले कोलकाताबाट १४ खेलमा ३७० रन बनाउनुका साथै तीन विकेट लिएका थिए ।

युजवेन्द्र चहल (पन्जाब), १८ करोड भारु 
यसपटकको अक्सनमा भारतीय खेलाडीको दबदबा रह्यो । गत सिजनमा विदेशी खेलाडी अक्सनमा महँगो रकममा बिक्री भएका थिए । सन् २०२५ को आइपिएलका लागि पन्जाव किंग्सले भारतका युजवेन्द्र चहललाई १८ करोड भारु खर्चेर भित्र्याएको छ ।

अश्रदीप सिंह (पन्जाब किंग्स), १८ करोड भारु
पन्जाबले यसपटक टोली बलियो बनाउन अक्सनमा करोडौँ भारु खर्चेको छ । राम्रा खेलाडी भित्र्याउन अक्सनमा भनेजति बोली लगाएको पन्जाबले भारतकै अश्रदीप सिंह अनुबन्ध गर्न १८ करोड भारु खर्चेको छ । बलिङ तथा ब्याटिङ गर्न सक्ने अश्रदीपले भारतका लागि आठ एकदिवसीय र ६० टी–२० आई खेलेका छन् । उनले एकदिवसीयमा १२ तथा टी–२० आईमा ९५ विकेट हात पारेका छन् ।

जोस बटलर (गुजरात), १५ करोड ७५ लाख भारु
गुजरात टाइटन्सले इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बटलरलाई १५ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको छ । बटलर विदेशी खेलाडीमा यसपटक महँगा बने । इंग्ल्यान्डबाट ५७ टेस्ट, १८१ एकदिवसीय तथा १२९ टी–२० आई खेलेका बटलरसँग मुम्बई इन्डियन्सबाट आइपिएल खेलेको अनुभव छ । उनले इंग्ल्यान्डबाट टी–२० आईमा तीन हजार ३८९ रन बटुलेका छन् । उनले एक शतक तथा २५ अर्धशतकीय इनिङ्स खेले ।

See More On

सुझावित समाचार