अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटबल गुल्मीमा ६० उजुरी दर्ता भएका छन्। आर्थिक वर्ष ०८१/८२ मा दर्ता भएका उजुरीमध्ये ३५ वटा फर्स्योट भएका छन्।
अझै २५ वटा उजुरी फर्स्योट हुन बाँकी छन्। यो तथ्यांक स्थानीय तह र सोही स्थानीय तहभित्र रहेका सबै कार्यालयको हो। शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले आयोजना गरेको जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रममा सार्वजनिक गरिएको विवरणअनुसार स्थानीय तहको आधारमा हेर्दा मुसिकोट नगरपालिकाका पाँच उजुरीमध्ये तीन फर्स्योट भएर दुई बाँकी छन्।
रेसुंगा नगरपालिकाका नौमध्ये तीन फर्स्योट, दुई बाँकी, इस्मा गाउँपालिकाका ६ मध्ये चार फर्स्योट भएर दुई बाँकी रहेका छन्। कालिगण्डकी गाउँपालिकाका तीनमध्ये सबै फर्स्योट हुन बाँकी छन्।
सत्यवती गाउँपालिकाका सातमध्ये पाँच फर्स्योट दुई बाँकी, चन्द्रकोट गाउँपालिकाका दुईमध्ये एक फर्स्योट एक बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले जनाएको छ। आयोगका अनुसार रुरुक्षेत्र गाउँपालिकाका ६ उजुरीमध्ये तीन फर्स्योट, तीन बाँकी छन्। छत्रकोटका दुईमध्ये सबै फर्स्योट भएका छन्। धुर्कोटका ६ मध्ये तीन फर्स्योट, तीन बाँकी छन्।
मदानेका पाँचमध्ये चार फर्स्योट एक बाँकी, मालिका गाउँपालिकाका आठमध्ये ६ फर्स्योट दुई बाँकी र गुल्मीदरबारकाे एक फर्स्योट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
लुम्बिनी प्रदेशका नौ जिल्लामा ७९९ उजुरी दर्ता भएकामध्ये ४८५ फर्स्योट भएर ३१४ उजुरी बाँकी छन्। आयोग बुटवलले हेर्ने नौ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा २५६, कपिलवस्तुमा २०६, नवलपरासी बर्दघाट सुस्ता पश्चिममा ९८ उजुरी दर्ता भएका छन्। आयोगको कार्यालय बुटवलमा आर्थिक वर्ष ०७९/८० मा एक हजार ५२३ र ०८०/८१ मा दुई हजार १८४ उजुरी दर्ता भएको पौडेलले बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका प्रमुख राजेन्द्र न्यौपानले उजुरी परेपछि कार्यालय तथा स्थानीय तहहरूले माग गरेका विवरणसहितका कागजात सूचना समयमै प्राप्त नहुँदा कार्य फर्स्योटमा ढिला हुने गरेको बताए। उनले कार्यालयले सम्पर्क विन्दु सुशासन इकाइ गठन नगर्ने, प्रतिक्रिया माग गरेकोमा नपठाउने, मागेको भन्दा आफूअनुकूल जवाफ पठाउने तथा गोलमटोल वा अस्पष्ट भाषा प्रयोग हुने असान्दर्भिक कागजातको थुप्रो पठाउने समस्या रहेको बताए।
आरोपित व्यक्ति वा निकायकै जवाफ साभार गरेर पठाउने, स्थालगत निरीक्षणविना जवाफ पठाउने, सुझाव कार्यान्वयन नगर्ने, आवश्यक कारबाहीको लागि लेखी पठाएकोमा केही कारबाही नगर्ने र गरेको भए पनि आयोगमा जानकारी नपठाउने प्रवृत्तिका कारण आयोगलाई उजुरी फर्स्योटमा सास्ती भएको पौडेलले बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर हरि पौडलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा आयोग केन्द्रीय कार्यालयका सहसचिव रमेशकुमार केसीले सरोकारवालाका गुनासाको सम्बोधन गरेका थिए। कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रुख, प्रमुख प्रशासकीय अधिकृतलगायतले प्रश्न, गुनासा र सुझाव राखेका थिए।