मिस इन्टरकन्टिनेन्टलमा भाग लिन डा. आयुष्नोभा इजिप्ट प्रस्थान

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल–२०२४’ मा सहभागी हुन ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ डा. आयुष्नोभा ढुंगाना त्यसतर्फ प्रस्थान गरेकी छिन्। इजिप्टको सर्म अल सेखमा २१ नोभेम्बरदेखि आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन ढुंगाना बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन्।

५५ देशका प्रतियोगीले सहभागिता जनाउने उक्त प्रतियोगिताका लागि ढुंगाना नेपालबाट एक मात्र प्रतिनिधि हुन्। प्रतियोगिताका लागि उनले राष्ट्रिय फूल लालीगुराँसको चित्र अंकित गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पारिएको पहिरन लगाउनेछिन्।

‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको उनको भनाइ छ। ताज जित्ने उद्देश्यसहित आफू प्रतियोगितामा सहभागी हुन लागेको उनले बताइन्। ‘प्रतियोगिताका लागि राम्रो तयारी गरेकी छु। नेपालको नाम उच्च गरेर फर्किनेछु। मैले यो प्रतियोगितामा जितका लागि सबै नेपालीको शुभकामना र शुभेच्छाको अपेक्षा राखेकी छु,’ इजिप्ट जानुअघि उनले भनिन्। 

प्रतियोगिताका लागि उनले एउटा परिचयात्मक भिडियो पनि बनाएकी छिन्, जसमा नेपालको ऐतिहासिक धरोहर, मठ, मन्दिर, प्राकृतिक सम्पदा, नदी, नेपाली परिवेश, कृषि तथा नेपाली पहिरनलगायतका कला–संस्कृतिसमेत झल्काएकी छिन्।

ढुंगाना मोडल पनि हुन्। मोडलिङ तथा चिकित्साको करियरलाई एकसाथ अगाडि बढाइरहेकी उनले बंगलादेशबाट एमबिबिएस गरेकी हुन्। उनी अहिले हार्बर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएसन क्रेडिट कोर्स गर्दै छिन्।
 

सुझावित समाचार