साबिक विजेता अर्जेन्टिना छनोट चरणबाट फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा स्थान बनाउने पहिलो राष्ट्र बनेको छ । दक्षिण अमेरिकी छनोटमा बुधबार बिहान अर्जेन्टिनाले पेरुलाई १–० ले हराउँदै सन् २०२६ को विश्वकपको टिकट काटेको हो । दुई वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् ।
घरेलु मैदान ब्युनर्स आयर्समा अर्जेन्टिनालाई जित दिलाउन एक मात्र निर्णायक गोल लाउटारो मार्टिनेजले गरेका थिए । खेलको ५५औँ मिनेटमा मार्टिनेजको गोलमा अर्जेन्टिनाले पेरुलाई हराएको हो । २७ वर्षीय मार्टिनेजले पूर्वकप्तान डिएडो म्याराडोनाले अर्जेन्टिनीका लागि गरेको गोलसँग बराबरी गरेका छन् । म्याराडोनाले राष्ट्रिय टोलीबाट ३२ गोल गरेका थिए । मार्टिनेजले म्याराडोनाको रेकर्ड बराबरी गर्न ७० खेल खेले ।
उनले कप्तान लियोनल मेसीको पासमा बायाँखुट्टे भली गोल गरेका थिए । अर्जेन्टिनी राष्ट्रिय टोलीबाट मेसीले सर्वाधिक ११२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अर्जेन्टिनाका लागि ग्राबियल बाटिस्टुटा, सर्जियो अगुएरो तथा हर्नान क्रेस्पो सर्वाधिक गोलको सूचीमा शीर्ष पाँचभित्र छन् ।
अर्जेन्टिना २५ अंकका साथ शीर्ष स्थानमा
विश्वकपमा दक्षिण अमेरिकाबाट शीर्ष ६ टोली विश्वकपमा पुग्नेछन् । १२ खेलपछि अर्जेन्टिनाले आठ जित, तीन हार र एक बराबरी खेल्दै २५ अंक जोडेको छ । दोस्रो स्थानमा उरुग्वेको २० अंक छ । दुईपटकको विजेता उरुग्वेले १२ खेलबाट २० अंक बटुल्दै तेस्रो स्थान रक्षा गरेको छ । पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले उरुग्वेसँग बराबरी नतिजा निकालेको छ । ब्राजिलले समान खेलबाट १८ अंक जोडेको छ । दक्षिण अमेरिकी छनोटमा सातौँ स्थानमा रहने टोलीले प्लेअफका लागि स्थान बनाउनेछ ।
प्रशिक्षक लिओनल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले छनोटको ६ खेलअघि नै विश्वकपमा स्थान सुरक्षित गरेको हो । अर्जेन्टिनाले दोस्रो स्थानको उरुग्वेविरुद्ध स्पष्ट ५ अंकको अग्रता बनाएको छ । पेरुविरुद्धको प्रतिस्पर्धामा अर्जेन्टिनाले खेलको सुरुवाती मिनेटमै अग्रता लिने अवसर गुमाएको थियो । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने एलेक्सिस माकको हेडिङ क्रसबार नजिक हुँदै बाहिरिएको थियो ।
उरुग्वेसँग ब्राजिल रोकियो
बुधबार बिहान उरुग्वे र ब्राजिलबिच रोमाञ्चक खेल भयो । साल्भाडोरमा भएको प्रतिस्पर्धामा ब्राजिल उरुग्वेसँग १–१ को बराबरीमा रोकियो । दोस्रो हाफको पहिलो मिनेटमा रियल म्याड्रिडबाट खेल्ने फेडेरिको भाल्भेडेले उरुग्वेलाई १–० को अग्रता दिलाएका थिए ।
खेल सकिन ६ मिनेट बाँकी रहँदा जेर्सनले ब्राजिललाई १–१ को बराबरीमा पुर्याए । जेर्सनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । अर्को खेलमा पराग्वेले बोलिभियासँग २–२ को बराबरी खेल्यो । पाराग्वेका लागि अन्तिम समयमा न्युकास्टल युनाइटेडबाट खेल्ने मिगुइल अल्मिरोले गोल गरेका थिए । अर्को खेलमा चिलीले भेनेजुएलालाई ४–२ ले हरायो ।