अनलाइन सट्टेबाजी (जुवा) मा संलग्न भएको आरोपमा प्रहरीले १४ जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ। मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका–३, सगुनिपथस्थित अस्फाक आलमको घरबाट उनीहरूलाई पक्राउ गरिएको हो।
अनलाइन गेममार्फत (जुवा, सट्टाबाजी) सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १४ उनीहरूलाई पक्राउ गरेको हो। कार्यालयका अनुसार वाट्सएपसहितका माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनाई क्रिकेट, फुटबल, हक्की, हर्स रेसलगायतका गेम लर्डस् एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७, स्याफरोन, ताज ००७, क्लासिक एक्ससिएच ९९, गोएक्ससिएचलगायतका वेबसाइटबाट अनलाइन बेटिङ (जुवा सट्टाबाजी) सञ्चालन गरिरहेको अवस्थामा सट्टेबाजीमा प्रयोग भएका उपकरणहरूसहित उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा साहिल सोडा, श्याम गुप्ता, रवि जैसवाल, अनुराग सिंह, नितेश बर्मा, दीपक जैसवाल, रजत कुमार, लक्की जैसवाल, सतेन्द्र कुमार, अवधेश कुमार, मोहित कुमार, प्रियान्सु जैसवाल, मनीष पासवान र शिवम सिंह रहेका छन्।
उनीहरूलाई रुपन्देही जिल्ला आदालतमा पेस गरी अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिप्रकाले जनाएको छ।
जिप्रकाका प्रहरी नायब उपरीक्षक नवीन पौडेलका अनुसार उनीहरूबाट विभिन्न कम्पनीको मोबाइल सेटहरू ४० थान र विभिन्न कम्पनीका तीन थान ल्यापटप, २ थान राउटर बरामद गरेको छ।